२ फागुन, पाकिस्तान । दक्षिण पश्चिम पाकिस्तानमा शुक्रबार इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस आइइडीबाट भएको विस्फोटमा १० जना मजदुरको मृत्यु भएको एक अधिकारीले बताएका छन् ।
विपन्न बलुचिस्तानमा सुरक्षा बलहरूले पृथकतावादी समूहहरूसँग दशकौँदेखि विद्रोहको सामना गरिरहेका छन् । सीमावर्ती क्षेत्रहरूमा विगत तीन वर्षमा हिंसा बढेको छ ।
शुक्रबार मजदुरहरूको एक समूह हर्नाई जिल्लाको बजारतर्फ जाँदै गर्दा विस्फोटको चपेटामा परेको स्थानीय सरकारी अधिकारी सलिम तारीनले बताए । उनले ‘आइइडी विस्फोट’ भएको बताए।
“हर्नाई जिल्लामा भएको आक्रमणमा १० खानी मजदुरको मृत्यु भयो”, अर्का वरिष्ठ सरकारी अधिकारी शहजाद जहरीले भने ।
हर्नाई दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट १६० किलोमिटरभन्दा टाढा छ ।
एक वक्तव्यमा प्रधानमन्त्री शाहबाज सरिफले ‘देशबाट आतङ्कवादको खतरालाई उन्मूलन गर्न सक्रिय रूपमा काम गर्ने’ आफ्नो प्रतिबद्धता दोहोर्याए ।
कुनै पनि समूहले आक्रमणको दाबी गरेको छैन । यद्यपि बलुच लिबरेसन आर्मी बिएलए० यस क्षेत्रको सबैभन्दा सक्रिय समूह हो र प्रायः यो समूहले सुरक्षा बल वा अन्य प्रान्तका पाकिस्तानीहरू विरुद्ध घातक आक्रमण गर्दछ ।
बाहिरीहरूले पाकिस्तानको सबैभन्दा गरीब भागका बासिन्दाहरूलाई बाहिर राख्दै स्रोत–समृद्ध क्षेत्रको शोषण गरेको आरोप लगाउँदै समूहले विशेषगरी चीनबाट विदेशी लगानीका ऊर्जा परियोजनाहरूलाई लक्षित गरेको छ ।
यस महिनाको सुरुमा बलुचिस्तानको एक सहरमा सैनिक बोकेको सवारी साधनमाथि सडक अवरुद्ध गरेका ७० देखि ८० आक्रमणकारीले गोली प्रहार गरेका थिए ।