३ फागुन, बागलुङ । ताराखोला गाउँपालिका–५ बारडुलेकी ४६ वर्षीया मनकली घर्ती मगरले विसं २०६७ सालदेखि सिस्नोको पाउडर उत्पादन आएकी छिन् । बारीको काल्नामा खेर गइरहेको सिस्नोलाई प्रशोधन गरी पाउडर बनाएर देशका ठूला सहर र विदेश पठाउने गर्छिन् । चौध वर्ष अगाडि जिल्ला लघु उद्यम सङ्घले दिएको पाँच दिनको तालिमले घर्ती मगरलाई उद्यमी बनायो । उद्यमीसँगै अहिले उनी प्रशिक्षकका रूपमा ज्यादा चिनिन् छिन् ।
विहान बेलुका घरको काम धन्दामा ब्यस्त हुने मनकली फुर्सदको समयमा काल्नामा उम्रिएको सिस्नो टिपेर प्रशोधन गर्छिन् । आवश्यक मेसिन नहुँदा पनि उनल घरेलु सामग्री प्रयोग गरी सिस्नोका पाउडर उत्पादन र प्याकेजिङ गर्छिन् । गाउँमा कसैले पनि सिस्नो बिक्री हुन्छ भन्ने विश्वास गर्दैनथिन् । तर अहिले विदेशदेखि नै माग आउन थालेपछि गाउँले पत्याउन थालेका छन् । ताराखोलामा मनकली सिस्नोको पाउडर उत्पादन गर्ने र अरुलाई प्रशिक्षण दिन एक्लो महिला हुन् ।
घर्ती मगरले कक्षा पाँचसम्म अध्ययन गरे पनि सिस्नो पाउडर बनाउन सिक्नेका लागि शिक्षकनै बनेकी छिन् । वर्षौँ अगाडि गाउँमा एक पटक लिएको तालिमले मनकलीको दैनिकीनै फेरिँदै गएको छ । घरको काम धन्दामा मात्रै सीमित उनी अहिले फुर्सद्को समयमा बारीको सिस्नो टिप्ने र पाउडर बनाउने गर्छिन्। दुर्गम गाउँको सामान्य परिवारकी घर्ती मगरका तीन छोरी र एक छोरा हुन् । श्रीमान् भने वर्षौँदेखि रोजकारका सिलसिलामा मलेसिया पुगेका छन् ।
उनले भने, “म त गरिब परिवारमा जन्मेको हुँद धेरै पढ्न पाइन, पाँच कक्षासम्म पढेँ, आर्थिक अवस्था पनि राम्रो थिएन, आफूले पढ्न नपाए पनि चार भाइबहिनी छोराछोरीलाई श्रीमान्ले विदेशमा मैले यहाँ काम गरेर उच्च शिक्षा पढाउन पाएका छौँ, उतिबेला खेती किसान गरेर खानु पथ्र्यो, खान पनि पुग्दैनथ्यो, सिस्नोको पाउडर बनाएर बेच्न थालेपछि आर्थिक अवस्था पनि सुधार हुँदै गएको छ ।”
बागलुङ जिल्लामा अहिलेसम्म व्यवसायिकरूपमा सिस्नोको पाउडर उत्पादक हुनसकेको छैन । धेरै महिलाले तालिम लिए पनि व्यवसायिक रूपमा उत्पादन गर्न तर्फ चासो दिएको पाइँदैन । सिस्नोको पाउडर उत्पादन गर्न निकै झण्झटिलो र धेरै समय लाग्ने हुँदा धेरैले चासो नदिने मनकली बताउनुहुन्छ । एक महिनामा महिनामा करिब १५ किलो पाउडर तयार गर्न सकिने उनको भनाइ छ ।
एक किलो पाउडर उत्पादनका लागि करिब १० किलो काँचो सिस्नो आवश्यक पर्ने भन्दै बढी मेहनत र कम आम्दानी हुने हुँदा धेरैले चासो नदिएको उनको भनाइ छ । विदेश जाने धेरैको रोजाइमा सिस्नाको पाउडर पर्ने हुँदा प्रतिकिलो रु २०० हजारसम्म लैजाने गरेको घर्ती मगरले सुनाइन् । आफूले फुर्सद्को समयमा मात्रै पाउडर उत्पादन र प्याकेजिङ गर्ने हुँदा वार्षिक तीन लाखको हाराहारीमा आम्दानी गर्ने उनको भनाइ छ ।
पहिलेको तुलनामा पछिल्लो समय पाउडरको माग बढ्दै गएको छ भने मूल्य पनि बढ्दै गएको छ । डेढ दशक अगाडि गाउँका अरु महिलाले पनि तालिम लिए पनि उनीहरुले खास्सै चासो दिएनन् । मनकली एक्लैले निरन्तर मेहनत गर्दै जाँदा अहिले अन्य महिलाका लागि प्रेरणाको स्रोत बनेकी छिन् । समय–समयमा उनी तालिम दिनका लागि ठाउँ–ठाउँमा पुग्छिन् ।
सिस्नोको पाउडरको माग नेपालमा भन्दा बढी विदेशबाट आउने घर्ती मगरले बताइन् । आधुनिक उपकरण भए त्यसभन्दा बढी कमाई गर्न सकिने भन्दै अब व्यवसायलाई थप व्यवस्थित गर्दै खेतबारीमा सिस्नोको खेती गर्ने योजना रहेको मनकलीले सुनाइन्। राज्यले आफूजस्ता उद्यमीलाई व्यवस्थित रूपमा उद्यम गर्न सघाउने भए धेरै महिलाको दैनिकी बदलिने घर्ती मगरले बताइन् ।
“मैले सिस्नोको पाउडर बनाउन सिकेको धेरै वर्ष भयो, धेरै थोरै अहिले पनि बनाउँदै आएको छ, पाउडेर बेचेर घर खर्च चलाउन मद्दत पुगेको छ, मैले उत्पादन गरेको पाउडर पोखरा, काठमाडौँसम्म पुग्छ, अझ जापान, कोरिया जानेले बढी लैजाने गर्छन्” घर्ती मगरले भनिन्, “गाउँमा सबै महिला दिदीबहिनी मिलेर काम गर्ने हो भने वर्षमा लाखौँ आम्दानी गर्न सकिने थियो ।”
पाँच दिनको तालिमले आफूलाई अब्बल बनाउन टेवा पु¥याएको उनको भनाइ छ । आवश्यकअनुसारको मेसिन नहुँदा अहिले घरमै भएका सामग्रीबाट पाउडर उत्पादन गरेको घर्ती मगरले बताइन् । माघअनुसार उत्पादन गर्न नसकेको उनले बताइन् ।
गाउँमा सहनशीला लघु उद्यम महिला समूह गठन भए पनि सक्रियरूपमा पाउडर उत्पादनमा लाग्न नसकेको घर्तीले सुनाइन् । पहिले प्रतिकिलो दुई-चार सयमा बिक्री हुने पाउडरको मूल्य अहिले रु एक हजार पर्न थालेको उनले सुनाइन् । आफूले अहिलेसम्म कुनै पनि निकायबाट अनुदान नपाएको घर्ती मगरले बताइन् ।
ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले महिला उद्यमीहरुलाई पालिकाले निरन्तर सहयोग गर्दै र आवश्यक सीप सिकाउँदै आएको बताए । उद्यमसँग जोडिने हरेक महिलालाई अनुदान दिने र दक्ष बनाउनका लागि तालिम दिने उनको भनाइ छ । आवश्यक सहयोग माग्न आउने हरेक महिला उद्यमीलाई पालिकाले सहयोग गरेको भन्दै सिस्नो पाउडर उत्पादन गर्ने मनकलीलाई पनि पालिकामा आए सहयोग गर्ने उपाध्यक्ष रोकाले बताएका छन्।