३ फागुन, काठमाडौँ । संविधान संशोधनका लागि छलफल गर्न आज सत्ता पक्षीय दलहरूको बैठक बस्ने भएको छ। बैठकले संविधान संशोधनको लागी कार्यदल बनाउने बारे छलफल हुने बताइएको छ।
गृहमन्त्री एवम् काँग्रेस नेता रमेश लेखकका अनुसार बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने छ। उनका अनुसार बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ ।
शुक्रवार बालुवाटारमै बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे अनुसार आज ११ बजे सत्ता पक्षीय नेताहरूको बैठक बस्ने निर्णय भएको गृहमन्त्री लेखकले जानकारी दिए।
हिजोको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने र उक्त कार्यदलले देशभरि संयुक्त अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो।
सरकारमा नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) , नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन् भने जनमत पार्टी र जनता समाजवादी पार्टी, नेपालले सरकारलाई समर्थन मात्रै गरेका छन्।