३ फागुन, खोटाङ । डिभिजन वन कार्यालयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ घरका स्थानीय कृषकलाई मौरीका आधुनिक घार उपलब्ध गराएको छ ।
जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना ९डिसिआरएल०सँगको सहकार्यमा सञ्चालित ‘वनमा आधारित उद्यम प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध कृषकलाई मौरीका आधुनिक घार निःशुल्क उपलब्ध गराइएको हो ।
वनमा आधारित उद्यम प्रवद्र्धनका लागि खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध कृषकलाई मौरीका आधुनिक घार निःशुल्क उपलब्ध गराइएको डिभिजन वन कार्यालयका प्रमुख उदिमप्रसाद राईले जानकारी दिनुभयो । “खार्मीमा व्यावसायिक मौरीपालनका लागि ८० आधुनिक घार वितरण गर्ने कार्यक्रम छ, पहिलो चरणमा ७४ वटा उपलब्ध गराएका छौँ”, उनले भने, “बाँकी छ वटा केही दिनभित्रै उपलब्ध गराउछौँ, मौरीका घार प्राप्त गर्ने कृषकलाई व्यावसायिक मौरीपालनसम्बन्धी प्रशिक्षणसमेत दिइएको छ ।”
व्यावसायिक मौरीपालनका लागि डिभिजन वन कार्यालयले उपलब्ध गराएका मौरीका आधुनिक घार निःशुल्क पाएपछि खार्मीका स्थानीय कृषक उत्साहित भएका छन् । मौरीको खाली घार प्रतिगोटा रु पाँच हजार दुई सयका दरले खरिद गरेर खार्मीका स्थानीय उपभोक्तालाई दुई÷दुई घार निःशुल्क उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन रक्षक विनोद गजमेरले जानकारी दिए ।
मौरीको घार निःशुल्क प्राप्त गर्ने कृषकलाई डिभिजन वन कार्यालयले झिकाएको मौरीपालक कृषक छविलाल मगरले व्यावसायिक मौरीपालनसम्बन्धी एकदिने प्रशिक्षणसमेत दिनुभएको जनाइएको छ । डिभिजन वन कार्यालयले उपलब्ध गराएको मौरीका घार खार्मीका वडाध्यक्ष इखबहादुर राईको उपस्थितिमा वन उपभोक्ता महासङ्घ खार्मीका अध्यक्ष हर्कराज राईले कृषकलाई वितरण गरेको हो ।
व्यावसायिक मौरीपालनसम्बन्धी विनियोजित रु पाँच लाख ६३ हजार बजेटबाट खरिद गरिएका ७४ घारमध्ये चारमा परीक्षणका लागि स्थानीय सेरेना जातको मौरीसमेत उपलब्ध गराइएको सवडिभिजन वन कार्यालय दिक्तेलका वन अधिकृत कुमारप्रसाद फुयाँलले जानकारी दिए । डिभिजन वन कार्यालयले उपलब्ध गराएका मौरीका आधुनिक घारमा स्थानीय सेरेना जातको मौरी राखेर व्यावसायिक रुपमा पालन गर्न सकिने प्रशिक्षक मगरले बताए ।
डिभिजन वन कार्यालयले यसअघि वडा नं.१२ जालपामा गठित मधुश्री मौरीपालन तथा विषादिरहित फलफूल उत्पादक कृषक समूहमा आबद्ध १७ घरका स्थानीय उपभोक्तालाई एक-एक घार मौरीसहितका तथा चार-चार खाली घार उपलब्ध गराएको थियो । जालपामा उपलब्ध गराइएका घारमा पालिएका मौरीले अहिले राम्रो उत्पादन दिइरहेको कृषकले बताएका छन् ।
डिसिआरएलसँगको सहकार्यमा यस वर्ष वनमा आधारित उद्यम प्रवद्र्धन कार्यक्रमअन्तर्गत अल्लो कपडा तथा सुगन्धित तेल उत्पादनसम्बन्धी कार्यक्रमसमेत सञ्चालन भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । तीनवटै शीर्षक ९मौरीपालन, अल्लो कपडा तथा सुगन्धित तेल उत्पादन०का योजनाका लागि प्रतियोजना रु पाँच लाख ६३ हजारका दरले उपभोक्तालाई बजेट उपलब्ध गराएको जनाइएको छ ।
डिभिजन वन कार्यालयले डिसिआरएलसँगकै सहकार्यमा यस वर्ष जिल्लाका विभिन्न १० सामुदायिक वनमा रिचार्ज पोखरीसमेत निर्माण गरेको छ । डिभिजन वन कार्यालयले निर्माण गर्ने रिचार्ज पोखरीका लागि प्रतिपोखरी रु दुई लाख ५० हजार तथा डिसिआरएलले निर्माण गर्ने पोखरीका लागि रु दुई लाख ३५ हजार बजेट उपलब्ध गराएको छ ।