३ फागुन,काठमाडौँ। गृहमन्त्री रमेश लेखकले फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता पक्षको बैठक पछि प्रतिक्रिया दिँदै उनले सरकारले जारी गरेको अध्यादेशहरू सङ्घीय संसद्को दुवै सदनमा दर्ता भइसकेको र सत्तापक्षीय दलहरूबिच पारित गर्ने सहमति बनेको बताएका हुन्।
सत्तारुढ दलहरूबिच सरकारले ल्याएको अध्यादेशहरू पारित गर्ने बारेमा छलफल सकारात्मक रहेको र अध्यादेश छिटै स्वीकृत हुने गृहमन्त्री लेखकको दाबी थियो ।
उनले भने, ‘सरकारले जारी गरेको अध्यादेशहरू सङ्घीय संसद्को दुवै सदनमा दर्ता भएका छन्। ती अध्यादेशहरू सङ्घीय संसद्को दुवै सदनबाट स्वीकृत गराउनुपर्ने भएकाले त्यसै विषयमा केन्द्रित भएर आजको छलफल भएको छ। अरू समसामयिक राजनीतिक विषयमा पनि छलफल भएका छन्।,’
उनले मुख्य रूपले अध्यादेश स्वीकृत गर्ने, अध्यादेशलाई अगाडि बढाउनेबारेमा छलफल भएको जानकारी दिए। छलफल सकारात्मक भएको र सकारात्मक रूपले निष्कर्षमा पुगेको मन्त्री लेखकले बताए। उनले अघि भने ;अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ, सबै राजनीतिक दलहरू हामी सहमत भएका छौँ। यो प्रक्रिया चाँडै अघि बढ्छ।’
गृहमन्त्री लेखकले भूमिसम्बन्धी अध्यादेशमा प्रतिष्थापन गर्दा सबै राजनीतिक दलहरूबिच छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्ने उनको भनाई थियो।
संविधान संशोधनको विषयमा पनि छलफल अघि बढाउने गरी कार्यदल बनाउन सहमत भइसकेको उनले जानकारी दिए।