राजनीति

सङ्घीय शासन प्रणालीको अभ्यासमा देखिएका चुनौतीलाई पन्छाउँदै जानुपर्छ-सांसदहरू

३ फागुन, काठमाडौँ । संविधानसभाका सांसदहरूले सङ्घीय शासन प्रणाली नेपालका लागि नयाँ अभ्यास भएकाले कार्यान्वयनका क्रममा आउने विभिन्न चुनौती र बाधालाई पन्छाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

संसदीय मामिला पत्रकार समाजद्वारा आज यहाँ आयोजित ‘नेपालमा सङ्घीयता र समावेशीकरणः संरचना र अभ्यास’ अन्तरक्रियामा उनीहरूले मुुलुक भौगोलिक रूपमा सङ्घीय संरचनामा प्रवेश गरे पनि न्यायालय, कर्मचारीतन्त्र र राजनीतिक मानिसकताका कारण अधिकार हस्तान्तरण गर्ने विषय बाधक रहेको बताए ।

सांसद एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले सङ्घीयता कार्यान्वयनका लागि कानुन निर्माण गर्नुपर्ने बताए । उनले भने, “सङ्घीय संरचनालाई सबल बनाउन सबै राजनीतिक दल, सरकार, सङ्घीय संसद्ले आआफ्ना जिम्मेवारी समयमा पूरा गर्नुपर्छ । अहिले हामीले समयमा कानुन दिन नसकेका कारण सङ्घीयतासँग जोडेर विभिन्न प्रश्न उब्जिएका छन्, यसलाई सबैले सच्चाउँदै जानुपर्छ ।”

वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संविधानका कारण सङ्घीयता कार्यान्वयनमा समस्या नरहेको भन्दै सम्बन्धित पक्षले गर्नुपर्ने काम कर्तव्य समयमा पूरा नगरेकाले कार्यान्वयनमा चुनौती देखिएको बताए ।

उनले भने, “मुलुक भौगोलिक रूपमा सङ्घीयतामा प्रवेश गरे पनि राजनीतिक दल, न्यायालय, कर्मचारीतन्त्र र परम्परागत मानसिकतालाई सङ्घीयकरण गर्न नसक्दा समस्या देखिएको हो । समयमा कानुन नबन्दा सङ्घीय प्रणालीलाई पूर्ण रूपमा अभ्यासमा ल्याउन कठिनाइ भइरहेको छ । सरकारको नेतृत्व लिने क्रममा जसको जीत भए पनि प्रणाली बलियो हुनुपर्छ ।”