४ फागुन, काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना प्रश्नबाट भागेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्रीले कानुनी शासनको उपहास गरेकोसमेत बताएका हुन्।
आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद साहले ओलीलाई विभिन्न ८ वटा प्रश्न गरेका भएपनि कुनै पनि प्रश्नको जवाफ नै नदिएर रोष्ट्रमबाट ओर्लिएका थिए।
संसद्को बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद साहले लोकतन्त्रमा जनताका प्रश्नको जवाफ दिन सक्नुपर्ने बताए । ‘४ दिनअघि नै प्रश्न दर्ता गरेको थिएँ । आज यी प्रश्नहरूको जवाफ दिनुको सट्टा प्रधानमन्त्रीज्यू भाग्नुभयो । जनताका सरोकारसँग जोडिएका प्रश्नको जवाफ दिनुपर्थ्यो । उहाँले संसद्को अपमान गर्नुभयो,’ साहले भने।
उनले प्रधानमन्त्रीले नियमावलीको अपमान गरेको आरोप लगाए। उनले भने,’ प्रधानमन्त्रीले प्रश्नोत्तर भन्ने कार्यक्रमको धज्जी उडाइदिनुभयो । यसले मेरो विचारमा कानुनी शासनको उपहास पनि भयो । लोकतन्त्र हो भने जनताको जवाफ दिन सक्नुपर्छ । उहाँले प्रश्नकै प्रतिप्रश्न गर्नुभयो ।’
आफूले नियमापत्ति गर्दा सभामुख देवराज घिमिरेले बन्देज लगाएको भन्दै सांसद साहले आक्रोश व्यक्त गरे। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्य पनि आजबाटै सकिएको उनले भनाइ थियो।