समाचार

चन्दा उठाएको आरोपमा बानेश्वरबाट एक जनालाई प्रहरीले समात्यो 

७ फागुन, काठमाडौँ । प्रहरी वृत्त नयाँ बानेश्वरले चन्दा उठाएको आरोपमा काठमाडौँको नयाँ बानेश्वरबाट एक जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङ खोटेहाङ गाउँपालिका-८ का ३९ वर्षीय भरतकुमार राई रहेको प्रहरीले जनाएको हो। 

राईले आफू नेपाल कम्युनिस्ट पार्टी (विद्रोही)को कार्यकर्ता हुँ भनी विभिन्न ठाउँबाट चन्दा उठाइरहेको अवस्थामा  मङ्गलवार अपराह्न साढे ४ बजे नियन्त्रणमा लिएको बताइएको छ। 

प्रहरीको रिपोर्ट अनुसार राई यसअघि प्रहरी वृत्त नयाँ बानेश्वरलगायत विभिन्न प्रहरी कार्यालयबाट हात हतियार खरखजना, बैङ्किङ कसुर, विष्फोटक पदार्थसम्बन्धी कसुर र डाँका चोरीसम्बन्धी कसुर मुद्दा दर्ता भई अनुसन्धान भएको देखिएको छ ।

उनको साथबाट नेपाल कम्युनिष्ट पार्टी (विद्रोही) लेखेको पर्चा पम्प्लेटहरु, सोही पार्टीको लेटरप्याडमा आर्थिक भौतिक/नैतिक सहयोग गर्नेबारे भन्ने ब्यहोराको पत्रहरु, स्पष्टीकरण सोधिएको भन्ने ब्यहोराको पत्र बरामद भएको छ । साथै खाली लेटरप्याडहरु, न्याय पाउ भन्ने ब्यहोराको कविता नेपाली र प्रवीण नेपालीको नामको निवेदनहरू, प्रेस विज्ञप्ति, स्टाम्प (छाप), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (बिद्रोही) लेखेको सहयोग रसिद (ठेली) दुई थान बरामद भएको प्रहरीले जनाएको छ ।