राजनीति

०८४ मा कांग्रेसले एक्लैले बहुमत ल्याउँछ : कांग्रेस प्रवक्ता डा महत

७ फागुन, काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा प्रकाशशरण महतले नेपाली सामाजिक र आर्थिक क्रान्तिको अगुवाई कांग्रेसले गर्दै आएको बताएका छन्।

आज नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको आयोजनामा बनेपामा आयोजित २३औँ जिल्ला प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सात दशक अघिदेखि नेपाली कांग्रेसले सामाजिक–आर्थिक क्रान्तिको अगुवाइ गर्दै आएको बताए ।

“सामाजिक र आर्थिक क्रान्तिको अभियानलाई राजनीतिक द्वन्द्वले केही समय अवरोध गर्यो, हैन भने २००७ सालदेखि ०१७ साल, ०४६ र २०६२-०६३ को जनआन्दोलनदेखि शान्ति स्थापना तथा संविधान जारी र कार्यान्वयनमासमेत कांग्रेसले अगुवाई गरेको छ”, उनले भने ।

उनले बल प्रयोग नगरी जनताको मत जितेर सत्तामा जानुपर्ने मान्यतालाई कांग्रेसले स्थापित गरेको बताए । बिपी कोइराराले भने झैँ अहिले ‘सत्यको मुख बन्द हुँदा झूटको थुतुनो खुल्छ’ भन्ने अवस्था भएकाले सत्यको मुख खोल्नुपर्ने आवश्यकता औँल्याए । आगामी निर्वाचन ०८४ मा कांग्रेस एक्लैले बहुमत ल्याउने उनको धारणा थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाईं र मधुप्रसाद आचार्य, जिल्ला सभापति तीर्थ लामालगायतले शिक्षकको योगदानबारे चर्चा गरे । सो अवसरमा शैक्षिक सत्र २०८० र २०८१ मा जिल्लाका उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो ।