खेलकुद

महिला च्याम्पियनसिप फुटबल: आज नेपाल र लेबनान भिड्दै 

८ फागुन, काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज घरेलु टोली नेपालले लेबनानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

 त्यसअघि पहिलो खेलमा म्यानमार र किर्गिस्तानबिच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । चारै टोलीको यो दोस्रो खेल हुनेछ । पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले तथा नेपालले किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो ।

लेबनानसँग खेल्दा लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा छ । म्यानमार र नेपालले आफ्नो पहिलो खेल जितेकोले आज दोस्रो जित हात पारे एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।

अहिले खेलिरहेका चार टोलीमध्ये वरियतामा सबैभन्दा तल लेबनान छ भने तुलनात्मक रूपमा किर्गिस्तानलाई कमजोर टोली मानिएको थियो । 

किर्गिस्तानविरुद्ध विंगर विमला चौधरीको एक मात्र गोल नेपालले पहिलो ३ अङ्क जोड्न सफल भएको थियो। 

नेपाल र लेबनानबिच अहिलेसम्म १ खेल मात्र भएको छ । गत वर्ष फेब्रुअरीमा साउदीमा भएको वाफ च्याम्पियनसिपमा नेपाल र लेबनान पहिलो पटक आमने सामने भएका थिए ।