अन्तर्राष्ट्रिय

ट्रम्प र जेलेन्स्कीबिच आरोप प्रत्यारोप

८ फागुन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई तानाशाहको संज्ञा दिएका छन्। युद्ध विरामका लागि साउदी अरेबियामा वार्तामा युक्रेनको प्रतिनिधि अनुपस्थित भएपछि ट्रम्प र जेलेन्स्की आरोप प्रत्यारोपमा उत्रिएका हुन्। 

उक्त वार्तामा रुसी प्रतिनिधि मण्डल र अमेरिकी प्रतिनिधि मण्डलको सहभागिता रहेको थियो। 

रुसले सञ्चालन गरेको झुटको संसारमा अमेरिकी राष्ट्रपति रमाएको आशय जेलेन्स्कीको थियो। यसको एक घण्टाकै अवधिमा अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा जेलेन्स्कीलाई तानासाहको संज्ञा दिएका हुन्।

गत साता रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० मिनेट लामो फोन वार्ता गरेपछि साउदी अरेबियामा दुई देशका नेतृत्वको बिचमा वार्ता भएको हो। यी दुई देश बिचमा वार्ता भएपछि जेलेन्स्कीले यसमा असहमति जनाएका छन्।

ट्रम्पले त्यसपछि जेलेन्स्की बिना निर्वाचन सैन्य शासनको साथमा सत्तामा रहेको बताउँदै उनको वैधानिकता माथि नै प्रश्न उठाएका थिए। जेलेन्स्की सन् २०१९ भएको निर्वाचनको दोस्रो चरणमा ७३ प्रतिशत मत पाउँदै विजयी भएका थिए।