अन्तर्राष्ट्रिय

रेखा गुप्ता दिल्लीको मुख्यमन्त्री बन्ने पक्का, आजै शपथ लिने 

८ फागुन, काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)की विधायक रेखा गुप्ता दिल्लीको मुख्यमन्त्री बन्ने भएकी छिन्। दिल्ली विधानसभा अन्तर्गत शालिमार बाग सिटबाट विजयी गुप्ताले दिल्लीको मुख्यमन्त्रीका रूपमा शपथ खाँदै छिन्। 

समाचार एजेन्सी एएनआई र पीटीआईका अनुसार रेखा गुप्तासँगै अन्य ६ जना विधायकले पनि आज दिल्ली सरकारमा मन्त्रीका रूपमा शपथ खाने छन्। 

दिल्ली सरकारमा मन्त्रीका रूपमा प्रवेश वर्मा, आशिष सुद, मनजिंदर सिंह सिरसा, रवीन्द्र इन्द्रराज सिंह, कपिल मिश्रा र पंकज कुमार सिंहले शपथ खाने भएका हुन्। 

प्रवेश वर्माले नयाँ दिल्ली सिटबाट आम आदमी पार्टीका राष्ट्रिय संयोजक तथा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाललाई हराएका थिए। यसपछि उनलाई दिल्लीको नयाँ मुख्यमन्त्रीको दाबेदार पनि मानिएको भएपनि भाजपाले मुख्यमन्त्री नबनाउने पक्का भएको हो। 

हालै सम्पन्न दिल्ली विधानसभा चुनावमा बहुमत ल्याउँदै भाजपा २७ वर्षपछि दिल्ली सत्तामा फर्किएको हो। भाजपाले ४८ सिट  सहित दिल्ली विधानसभा चुनावमा बहुमत ल्याएको हो।