८ फागुन, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमणको कार्यक्रम अन्तिम समयमा रद्द भएको छ । छिमेकी देश भारतमा जारी महाकुम्भ मेलाको अवसर पारेर उनी आज दिउँसो भारत जाने तयारी थियो । उत्तर प्रदेश राज्यमा पर्ने प्रयागराजमा अहिले महाकुम्भ लागिरहेको छ ।
सभापति देउवालाई इन्डिया फाउन्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलिटी’ कार्यक्रममा वक्ताको रूपमा आमन्त्रण गरेको थियो । त्यही कार्यक्रममा सहभागी हुँदै उनी प्रयागराजबाट दिल्लीसमेत जाने तयारी थियो ।
इन्डिया फाउन्डेसनको आयोजनामा आगामी शुक्रबार र शनिबार आयोजना हुन गइरहेको कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुने तयारी थियो । उत्तर प्रदेशका मुख्यमन्त्रीसँग मात्रै भेट हुने भएपछि देउवाको भ्रमण रद्द भएको स्रोतले जनाएको छ ।