राजनीति

 ट्रम्पले नेपालमा अमेरिकी परियोजनाहरू रोकेका छन्, त्यसमा नेपालले पनि ‘रि थिंक’ गर्नुपर्छ: वरिष्ठ नेता डा. कोइराला

८ फागुन, काठमाडौँ ।  सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा भइरहेका अमेरिकी परियोजनाहरू रोकेपछि नेपालले पनि पुनर्विचार गर्नुपर्ने बताएका छन् । सुर्खेत पुगेका नेता कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिकाले रोकेका सहयोग परियोजनाका कारण अझै धेरै सतर्क हुनुपर्ने अवस्था आएको बताएका हुन्। 

देशको राजनीतिक र आर्थिक सुधारको अवस्था अत्यन्तै नाजुक अवस्थामा पुगेको नेता कोइरालाले टिप्पणी गरेका छन्। ‘अहिले नेपालको राजनीतिक परिस्थिति अत्यन्त गम्भीर अवस्थामा छ । अत्यन्त गम्भीर अवस्थामा छ नेपाल । झन् अहिले आर्थिक अवस्था त नाजुक अवस्थामा छ । यही बेला अमेरिकाको राष्ट्रपतिले जुन पैसा दिएको छ त्यसलाई फ्रड (ठगी) भनिदिनुभएको छ,’ कोइरालाले अघि भने ‘तीन महिनाका लागि त रोकेको छ, त्यो रकम । कति रोक्नुहुन्छ, दिनुहुन्छ वा दिँदै दिनुहुन्न त्यो भोलिको कुरा हुन्छ । तर, हामीले पनि एउटा के कुरा बुझ्नुपर्छ भने अब बेल्ट टाइट गरेर अगाडि बढ्नुपर्ने अवस्था छ ।’

अमेरिकी सहयोग नियोग (यूएसएड) को सहयोगमा सञ्चालित सहयोग कार्यक्रम अमेरिकी राष्ट्रपति ट्रम्पले तत्कालका लागि रोकेका थिए।  ‘यूएसडको बारेमा मेरो भिन्नै ओपिनियन (विचार) छ । अब हामी सतर्क हुनुपर्छ । शिक्षा, स्वास्थ्यमा ४०/५० वर्षदेखि सहयोग गरिरहेको छ । अहिले पनि सपोर्ट गरेरै जानुपर्छ ।’उनको भनाइ छ। 

त्यस्तै, अमेरिकी सहायता नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को अनुदान रोकिएको बारेमा पनि आफ्नो धारणा राखेका छन्। उनले  यस्ता विषयमा सरकारले पुनर्विचार गर्न सक्नुपर्ने बताए । ‘तर, अरू धेरै शीर्षक जुन छ, त्यसमा नेपाल सरकारले रि थिंक (पुनर्विचार) गर्न सक्नुपर्छ,’कोइरालाको भनाइ थियो