अन्तर्राष्ट्रिय

दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता, उपराज्यपालले खुवाए शपथ 

८ फागुन, काठमाडौँ । नयाँ दिल्लीको मुख्यमन्त्रीमा भारतीय जनता पार्टी (भाजपा) विधायक रेखा गुप्ताले आज शपथ लिएकी छन् ।

दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार  सक्सेनाले गुप्तालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भाजपाका नेताहरूको सहभागिता थियो । बुधबार साँझ बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन् । उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी थिइन् । उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन् ।