राजनीति

पार्टीको महाधिवेशन ०८४ को निर्वाचनअघि नगरे पार्टी झन् नाजुक बन्छ: वरिष्ठ नेता डा.कोइराला

८ फागुन, सुर्खेत। नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले काँग्रेसको १५ औँ महाधिवेशन २०८४ को चुनावअघि  नगरे पार्टी झनै कमजोर हुने बताएका छन्। आज नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले पार्टीको महाधिवेशन आम निर्वाचनअघि नगरे पार्टी झन् नाजुक हुने बताएका छन्। 

२०८४ को चुनावपछि पार्टीको महाधिवेशन गरे पार्टी झन् कमजोर बन्ने हुँदा चुनावअघि नै महाधिवेशन हुनुपर्ने भन्दै, आफूले पनि पार्टीमा त्यही कुरा राखिरहेको बताए।  उनले आफू सभापति पदको उम्मेदवार रहेको पनि बताएका थिए । 

नेता कोइरालाले भने, ‘पार्टी सभापतिको उम्मेदवार म हो भनेर मैले पहिले नै भनिसकेको छु।’ 

पार्टीको महाधिवेशनको अवधि २०८२ मङ्सिरमा सकिने र संविधानले दिएअनुसार बढीमा डेढ वर्ष थप गर्न मिल्ने हुँदा समयमै महाधिवेशन हुनुपर्छ भनेर आफूले भनिरहेको कोइरालाले जानकारी दिए। 

यसै गरी नेता कोइरालाले संविधान संशोधन, सुशासन, आर्थिक अवस्थामा सुधार ल्याउनेजस्ता सात बुँदा गरेर काँग्रेस र एमालेले सरकार गठन गरे पनि त्यो अनुसार काम हुन नसक्दा आफूले काँग्रेस सरकारमा सहभागी भए पनि आफूले खबरदारी गरिरहेको बताए। अहिले देशको अवस्था जटिल भएको भन्दै काँग्रेस र एमालेले पनि सुशासन कायम गर्न, आर्थिक कठिनाइलाई सुधार ल्याउन र संविधान संशोधन गर्ने जस्ता काम गर्न सकेनन् भने जनताले नपत्याउने उनको भनाइ छ।