८ फागुन,पोखरा। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठुलो नहुने बताएका छन्। कास्कीको ढुङ्गेपाटनमा बिहीबार आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सानो देशमा छु भन्ने हीनताबोध भावना नराख्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा सहभागी बनेका विद्यार्थीलाई हात्ती देखेर भाग्ने भन्दा तालिम दिएर माउते हुन समेत आग्रह गरेका छन्।
उनले भने,‘हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन । हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस् । साहसी हुनुस्, दुस्साहस नहुनुस्,’। प्रधानमन्त्रीले अघि भने ‘हामीसँग उर्वर भूमि छ । यसलाई रूपान्तरणकारी विकासमा लान सकिन्छ । यस काममा विश्वविद्यालय लागोस् । सरकार विश्वविद्यालयको साथमा छ ।’
विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्न आग्रह गरे ।