८ फागनु, गण्डकी । शिक्षाविद् जोर्ज जोनले विश्वविद्यालयबाट प्राप्त शिक्षालाई समाज र राष्ट्रको योगदानमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
पोखरा विश्वविद्यालयको २०औँ दिक्षान्त समारोहको प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले विश्वविद्यालयका उत्पादनले आफूलाई समाजमा असल नागरिकका रुपमा उभ्याउन जरुरी रहेको बताए ।
असल, इमान्दार एवं जिम्मेवार नागरिकका रुपमा आफूलाई स्थापित गर्न आग्रह गर्दै उनले दीक्षित विद्यार्थीहरू नयाँ पुस्ताका लागि अनुकरणीय बन्नुपर्ने आवश्यकता औँल्याए ।
पोखरा विश्वविद्यालयको स्थापनामा योगदान गर्ने व्यक्तित्वहरूको स्मरण गर्दै उनले विश्वविद्यालयले यस अवधिमा महत्वपूर्ण उपलब्धिहरू हासिल गर्दै गएको बताए । राष्ट्रको आवश्यकताअनुसारको जनशक्ति तयार गर्न विश्वविद्यालय लाग्नुपर्नेमा उनले जोड दिए ।
विश्वविद्यालयका उपकुलपति प्रा डा वेदराज केसीले पोखरा विश्वविद्यालयले अवलम्बन गरेको शिक्षा प्राणालीले केबल ज्ञानमात्र नभई सिर्जनात्मक सोच, समस्या समाधानको क्षमता र व्यावसायिक कौशलता पनि दिएको बताए ।
विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीपलाई समाज र राष्ट्रको समृद्धिमा प्रयोग गर्ने प्रेरणा जागृत होेस् भन्ने कामना गर्दै उनले दीक्षित विद्यार्थीहरूले प्राप्त गरेको ज्ञान, नवाचार र श्रमले समाजलाई सकारात्मक दिशातर्फउन्मुख गराउने विश्वास व्यक्त गरे ।
विश्वविद्यालयको स्थापनादेखि आजसम्म महत्वपूर्ण योगदान गर्ने सबैमा हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दै उनले विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति मुलुक विकासका लागि अमूल्य स्रोत रहेको धारणा राखे । २०औँ दीक्षान्त समारोहमा गत माघ २३ सम्म ट्रान्स्क्रिप्ट लिएका कूल सात हजार आठ सय ७२ जना विद्यार्थी दीक्षित भएको उनले जानकारी गराए ।
विश्वविद्यालयले आङ्गिक, संयुक्त आङ्गिक र सम्बन्धन प्राप्त महाविद्यालयमार्फत मुलुकभर आफ्ना शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । उपकुलपति केसीले आर्थिक रूपले विपन्न वर्गका करिब एक हजार छ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्तिसहित उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले विभिन्न कार्यक्रम विस्तार गर्दै आएको जानकारी दिए ।
विश्वविद्यालयका ६५ महाविद्यालयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहका कार्यक्रम सञ्चालन भइरहेका छन् । उनले विश्वविद्यालयमा ६८ कार्यक्रममा करिब ४० हजार विद्यार्थी अध्ययनरत छन् ।
नेपालमा बढ्दो विद्यार्थी पलायन र सीमित रोजगारीका अवसरलाई ध्यानमा राखी विश्वविद्यालयले गुणस्तरीय शिक्षा, अनुसन्धान र नवीन उद्यमशीलताको प्रवर्द्धन गर्दै स्वदेशमै उज्ज्वल भविष्य निर्माण गर्न विद्यार्थीलाई प्रेरित गरिरहेको उनले बताए । उनले भने, “दक्ष जनशक्ति उत्पादन गरी उद्योग, प्रविधि, कृषि, पर्यटन तथा अन्य क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्नु हाम्रो प्राथमिकता हो ।”
विश्वविद्यालयले व्यावहारिक शिक्षालाई प्रवर्द्धन गर्दै पाठ्यक्रमलाई उद्योग सम्बद्ध बनाउने, इन्टर्नसिप तथा परियोजना–आधारित सिकाइलाई जोड दिने र उद्यमशीलतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने कार्यलाई अघि बढाइरहेको उनले बताए । यसका साथै साना तथा मझौला उद्यम स्थापनाका लागि आवश्यक ज्ञान, सीप र सहयोग प्रदान गर्दै विद्यार्थीलाई स्वरोजगारीतर्फ प्रेरित गरिएको उनको भनाइ थियो ।
आजको प्रतिस्पर्धात्मक युगमा नवीन सोच, सिर्जनशीलता र प्रविधिको प्रभावकारी प्रयोग अत्यावश्यक भएको उनले उल्लेख गरे । उपकुलपति केसीले आफूले प्राप्त गरेको ज्ञान, सीप र अनुभवको प्रयोग गरी नेपालको सामाजिक, आर्थिक, औद्योगिक, शैक्षिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान दिन सक्षम हुन सुझाव पनि दिए ।
उक्त अवसरमा विश्वविद्यलायका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न तह र विषयमा उत्तीर्ण सात हजार आठ सय ७२ जना विद्यार्थीलाई दीक्षित गराएका थिए ।