राजनीति

सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारमा सक्दो सहयोग गर्छौँ : अध्यक्ष दाहाल 

९ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयका सञ्चालक, शिक्षक, विद्यार्थी एवं अभिवाकसँग आज बिहान भएको सङ्क्षिप्त भेटमा ग्रामीण भेगका विद्यालयको भौतिक विकासका साथै प्राज्ञिक उन्नयनमा आफ्नो तथा पार्टीका तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

निजी विद्यालयमा विद्यार्थीको सङ्ख्या बढी र सामुदायिकमा कम हुनुहुँदैन भन्दै उनले स्रोत–साधन पाएमा सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम रहेका बताए । उनले भने, ‘सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्छन् ।’  विद्यालयलाई नमुना विद्यालय बनाउनुपर्नेमा जोड दिनुपर्ने समेत बताएका थिए।