राजनीति

अध्यक्ष नेपालको आरोप: संसद् पुनर्स्थापनापछि बनेका सत्ता सहयात्री सरकारले हामीलाई उपयोग मात्रै गरे

९ फागुन, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् पुनर्स्थापनापछि बनेको सरकारका सहयात्रीहरूले आफूहरूलाई उपयोग गरेको आरोप लगाएका छन्। 

आजबाट सुरु भएको  केन्द्रीय कमिटी बैठकमा ‘तात्कालिक कार्ययोजना आन्दोलनद्वारा पार्टी निर्माण’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्दै नेपालले आफ्नो दललाई अन्य सत्ता साझेदारी काँग्रेस र माओवादी केन्द्रले उपयोग गरेको बताएका हुन्। 

प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतले त्यसलाई उल्टाउँदै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । त्यसरी बनेको सत्ता गठबन्धनकै दलहरूले आफूहरू सकेसम्म उपयोग गरेको नेपालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

संसद्को पुनर्स्थापना गरेर संविधान जोगाउन हाम्रो जुन ऐतिहासिक भूमिका रह्यो त्यसको श्रेयलाई पार्टी निर्माण र संसदीय निर्वाचनमा स्थापित गर्न सकिएन,’ प्रतिवेदनमा उल्लेख छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक पनि संसद् विघटन गरे पनि अदालतले बदर गरिदिएको थियो। अदालतको आदेश पछि बनेको देउवा नेतृत्वको सरकारले अध्यादेश मार्फत माधव नेपाल नेतृत्वकोमा नयाँ दल खोल्न सहजीकरण गरेको थियो।