राजनीति

एमालेसँग सहकार्य कांग्रेसलाई चुनौती नबनोस् : बरिष्ठ नेता डा. कोइराला

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले एमालेसँगको सहकार्य कांग्रेसका लागि चुनौती नबनोस् भनेर खबरदारी गर्नुपर्ने बताएका छन्। सरकारमा एमाले र कांग्रेसबीचको सहकार्यलाई स्वाभाविक मान्दै उनले आगामी निर्वाचनमा एमाले नै प्रमुख प्रतिस्पर्धी रहने उल्लेख गरे।

आज सञ्चारकर्मीसंग कुराकानी गर्दै डा. कोइरालाले भने, “मैले त्यसरी भन्न खोजेको होइन। हामी एमाले र नेपाली कांग्रेसको सरकार छ। करिब–करिब दुई तिहाइको सरकार छ। दुई तिहाइको सरकार चलाउँदा नेपाली कांग्रेस कतै अफ्ठ्यारोमा त पर्दैन भन्ने एउटा छ। हाम्रो भोलिको प्रतिस्पर्धी पनि को हो भन्दा एमाले नै हुन्छ। जो साथीहरू मन्त्रिपरिषद्‌मा हुनुहुन्छ, ती साथीहरूले एमालेसँग सहकार्य गर। हामी जो बाहिर छौँ, सत्ता पक्षमा छौं तर बाहिर छौँ। हामी प्रतिस्पर्धी एमाले नै हुन्छ, भोलिको निर्वाचनमा पनि। हामीले खबरदारी गरिरहनु पर्छ। सरकारले राम्रो काम मात्रै गरोस्, गलत काम नगरोस् भन्ने हो।”

नेता कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन २०८२ मंसिरभित्रै गर्नुपर्ने आवश्यकता औंल्याए। उनले अधिकांश कार्यकर्ताहरूको इच्छा महाधिवेशन समयमा नै सम्पन्न गरिनु रहेको उल्लेख गर्दै ढिलाइ भएमा पार्टी कमजोर बन्ने चेतावनी दिए।