११ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कै गतिविधिका कारण कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको बताएका छन्।
आइतबार रोल्पाको लिवाङमा आयोजित कांग्रेसको दोस्रो जिल्ला सम्मेलन तथा सभामा बोल्दै थापाले प्रचण्डको ‘चकचक’ र ‘उपद्रो’ले कांग्रेस र एमालेलाई एकसाथ आउन बाध्य बनाएको दाबी गरे।
‘प्रचण्डको चकचक देखेपछि, उपद्रो देखेपछि आजित भएको कांग्रेस र एमाले मिलेर अहिलेको सरकार बन्यो,’ थापाले भने।
उनले कांग्रेस–एमाले गठबन्धन २०८४ सालसम्म कायम रहने स्पष्ट पारे। ‘अब ०८४ सालसम्म हाम्रो तर्फबाट कुनै पनि चकचक हुँदैन, कुनै पनि उपद्रो हुँदैन,’ थापाले भने।