राजनीति

दुवै उपमहासचिवलाई साथमा लिएर ‘तराई-मधेस जागरण अभियान’ सुरु गर्दै अध्यक्ष दाहाल

१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘तराई-मधेस जागरण अभियान’ सुरु गर्दै छ। संसद्मा प्रमुख प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रले आज फागुन १२ गते झापाबाट सो अभियान सुरु गर्न लागेको हो। 

पार्टी अध्यक्ष पुष्पकमल दाहालले उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई साथमा लिएर हिजै झापा पुगिसकेका छन् भने उक्त अभियान झापाको कचनकवलबाट अध्यक्ष दाहालले शुभारम्भ गर्ने छन्। 

झापाको कचनकवल गाउँपालिकाको बनियानीमा अभियान उदघाटन हुने र चैत ७ गते कञ्चनपुर पुगेर समापन हुने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

दलाल, बिचौलिया तथा भ्रष्टाचारी संरक्षण गर्ने, अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको विरोध गर्न उक्त अभियान थालिएको माओवादी केन्द्रले बताएको छ। 

अभियान सुरु गर्नुअघि आज बिहान दाहालले शर्मा  र पुनलाई दायाँबायाँ लगाएर मर्निङवाक गरेका थिए। पार्टीमा आन्तरिक विवाद र दुई लाइन सङ्घर्ष चलिरहेको कुरा बाहिर आइरहँदा हामी एक ढिक्का छौँ भन्ने सन्देश दिनको लागी दुवै उपमहासचिवलाई दायाँबायाँ राखेर तस्बिर समेत सार्वजनिक गरिएको छ। 

दाहालको टोलीले पृथ्वीनगरको सगरमाथा चोकदेखि किच्चक बध हुँदै स्थानीय चारआलीबाट  पुनः सगरमाथा चोकसम्म मर्निङवाक गरेको थियो। दाहालको साथमा उपमहासचिवद्वय र शक्ति बस्नेत, उपाध्यक्ष अग्नि सापकोटालगायतका नेताहरू पनि रहेका छन्।