राजनीति

अध्यक्ष दाहालको आरोप : सुशासन र भ्रष्टाचारविरुद्ध निर्मम भएर लाग्दा रातारात सरकार परिवर्तन गरियो 

१२ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेस र एमालेसँग गठबन्धन गरेर सरकारमा रहँदा जनतासँगको सम्बन्ध टुट्न पुगेको बताएका छन्। उनले  पार्टीले समीक्षा गरिसकेको र अब जनतासँग क्षमा माग्दै सम्बन्ध सुधारमा लागेको बताएका हुन्।

आज झापामा आयोजित तराई–मधेस जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले अरू पार्टीसँग सहकार्य नगर्न माओवादीलाई जनताले नै सुझाव दिएको दाबी गरेका हुन्।

 ‘हामीलाई जनतासमक्ष जानु छ । विगतमा एमाले र काँग्रेससँग गठबन्धन गर्दा जनतासँगको सम्बन्धबाट विमुख हुन पुग्यौँ । अब त्यसो गर्ने छैनौँ,जनतासँगै सम्बन्ध बनाउने,आत्मसमीक्षा र भूल सुधार गर्दै जाँदा जनताले पक्कै साथ दिनेछन् भन्ने विश्वासमा छौँ ।’

आफूले सरकारको नेतृत्व गर्दा सुशासन र भ्रष्टाचारविरुद्ध निर्मम भएर अभियान चलाएको चर्चा गर्दै अध्यक्ष दाहालले त्यही कारण रातारात सरकार परिवर्तन गरिएको दाबी गरे ।

केही फरार अभियुक्त पक्राउ हुने बित्तिकै रातारात सरकार परिवर्तनको नाटक गरिएको उनको आरोप छ।  गलत तरिकाले बनेको सरकार फेर्ने कसरतमा आफ्नो पार्टी नलागेको बताउँदै दाहालले बरु जनतामै गएर निर्वाचनबाट जनताको शक्ति लिएर एक्लै सरकार बनाउने दाबी गरे। 

अब सरकार बनाउन कुनै पार्टीसँग गठबन्धन नगर्ने र आफ्नै खुट्टामा उभिएर बहुमत ल्याएर सरकार बनाउने अध्यक्ष दाहालको भनाई छ।