खेलकुद

महिला च्याम्पियनसिप फुटबल: आज नेपाल र म्यानमार फाइनल खेल्दै

१४ फागुन, काठमाडौँ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । काठमाडौँमा जारी उक्त खेलको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार खेल्न लागेका हुन्। 

खेल साँझ ६ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ । बिदाको दिन परेकाले फाइनल हेर्न ठुलो सङ्ख्यामा दर्शकको उपस्थिति हुने अनुमान छ । 

चार राष्ट्र सम्मिलित प्रतियोगितामा दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दुवैले लेबनान र किर्गिस्तानलाई हराउँदा एक अर्कासँग बराबरी खेलेका थिए ।  नेपाल फिफा वरीयतामा १०३औं स्थानमा छ भने म्यानमार ५५औं स्थानमा छ ।नेपालले वरियतामा आफू भन्दा ४८ स्थान माथि रहेको टिम म्यानमारलाई घरेलु मैदानमा पहिलो पटक हराउने  मौका पनि रहेको छ। 

नेपाल र म्यानमारबिच हालसम्म भएका ५ खेलमा नेपाल जितविहीन छ । ३ खेल म्यानमारले जित्दा २ खेल बराबरीमा सकिएको थियो।