राजनीति

काँग्रेस-एमाले गठबन्धनको सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न बनेको सरकार हो :अध्यक्ष दाहाल

१४ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकार भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले बनेको आरोप लगाएका छन् । तराई-मधेस जागरण अभियानका क्रममा आज विराटनगर पुगेका दाहालले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन्।

आफू नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने अभियान चलाएपछि उनीहरूलाई संरक्षण गर्न काँग्रेस-एमाले गठबन्धनको सरकार बनेको उनको दाबी थियो। 

‘हामीले सुशासन कायम गर्न खोज्यौँ । भ्रष्टाचारी विरोधी अभियान सुरु गरेबापत, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन थालेबापत भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको हो’, उनले भने ।

अध्यक्ष दाहालले आफ्नो सरकारले सुरु गरेको त्यही सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रव्यापी रूपमा जनताको बिचमा लैजान यो जागरण अभियान सुरु गरेको जानकारी दिए।  जागरण अभियानको अर्को उद्देश्य दक्षिण भेगमा रहेका आदिवासी जनजाति, मधेसी, थारुको मुद्दा स्थापित गर्नू र राष्ट्रिय एकता सुदृढ गर्नु रहेको  दाहालको भनाइ छ।