पर्यटन/संस्कृति

मुलकभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो

१४ फागुन, काठमाडौँ । आज शिवरात्रि पर्वका अवसरमा मुलुकभरका शिवालय तथा मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । शिवरात्रिको दिन भगवान् शिवको पूजाआजा र भजनकीर्तन गरी उपवास बसेमा मनोकामना पूरा हुने जनविश्वाससहित आज बिहानैदेखि शिवालयमा दशनार्थीको घुइँचो लागेको हो ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेका कैलालीको धनगढीस्थित बेहडाबाबा मन्दिर, शिवपुरी उत्तररामेश्वरम् ज्यार्तिलिङ्गधामलगायत शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको बेहडाबाबा मन्दिरमा व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

आज मन्दिर परिसर नजिक मेलाको पनि आयोजना गरिएको भन्दै मेलामा कैलालीका साथै छिमेकी जिल्लाका बासिन्दा तथा भारतबाट पनि दर्शनार्थी आएका उनले बताए । उनका अनुसार मन्दिर परिसरमा नेपालीका साथै भारतीय व्यवसायीले केही दिनअघिदेखि यहाँ विभिन्न पूजाका सामग्रीको व्यापार गर्दै आएका छन् । 

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा महाशिवरात्रि पर्वका दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । बेनी बजारबाट तीन किलोमिटर उत्तर तथा पूर्वमा अवस्थित पवित्र कालीगण्डकी नदी किनारमाथि रहेको नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वरधाममा बिहानैदेखि म्याग्दीसहित विभिन्न जिल्लाबाट आएका भक्तजनहरूले पूजा एवं दर्शन गरिरहेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीे जानकारी दिए ।

उनका अनुसार गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पूजा आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकीर्तन गर्ने, धुनी जगाउने तथा भगवान् शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको छ । जिल्लाको बेनी शिवालय मन्दिरमा रहेको एक सय आठ शिवलिङ्गको पूजा गर्न पनि आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको बेनी शिवालय मन्दिर संरक्षण समितिले जनाएको छ ।