राजनीति

महामन्त्री थापा भन्छन् : सरकार काममा भन्दा कुरामा मस्त छ,निराशा चिर्न ‘एक्सन र रिजल्ट’ केन्द्रित हुनुपर्थ्यो  

१६ फागुन ,पोखरा । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले परिणाममुखी काम गर्न नसकेको बताएका छन् ।  पोखरामा भइरहेको १२ औँ नेपाल लिटरेचर फेस्टिभलको ‘निराशा : व्याख्या र वास्तविकता’ नामक सत्रमा बोल्दै थापाले सरकारमा ‘सेन्स अफ अर्जेन्सी’ नभएको बताएका हुन् । 

‘निराशालाई चिर्नका लागि ‘एक्सन’ र ‘रिजल्ट’केन्द्रित हुनुपर्ने थियो’, उनले भने, ‘तर काममा भन्दा कुराहरूमा मजाले मस्ती छ, मसँग सङ्ख्या छ, दुई तिहाइ छ भनेर सरकारको नेतृत्व ढुक्क देखिन्छ । तर, सरकारसँग ‘सेन्स अफ अर्जेन्सी’ देखिँदैन ।’

महामन्त्री गगन थापाले आफूले सरकारमाथि प्रश्न गरिरहँदा सरकारको कमीकमजोरीबाट आफू पनि भाग्न भने नमिल्ने बताए । ‘ सरकारमाथि मेरो पनि प्रश्न नै प्रश्न छ । सरकार सञ्चालन गर्ने जिम्मेवार ठाउँमा भएकाले मेरो संलग्नता भए पनि नभए पनि यसभित्र भएका कमीकमजोरीबाट म भाग्न हुँदैन भाग्दिनँ, यसको सबै दोष पनि मैले यहाँबाट भोगेर जानुपर्छ,’ थापाले भने ।

 समाजको निराशाको कारणको बारेका भएको अन्तर-संवादका क्रममा सरकार नतिजामुखी हुन नसक्दा पनि यस्तो अवस्था आएको थापाको भनाइ थियो ।