१६ फागुन, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग होसियार सुझाव दिएका छन् । फेरि सँगै स्वर्ग जाउँला भनेर मख्ख परेर नबस्न आग्रह गरेका हुन् ।
अध्यक्ष नेपालले भने ‘होसियार है, शेरबहादुरजी । तपाईँले खुबै विश्वास गर्नुहुन्छ । फेरि सँगै स्वर्ग जाउँला भनेर मख्ख परेर बस्नुभएको होला । नरक पुर्याइदेलान् है होस् गर्नुस्,’ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले प्रधानमन्त्री ओलीलाई कटाक्ष गर्दै भने।
आज जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट बौद्धिक पेशाकर्मी महासङ्घले आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा बोल्दै नेपालले संसदमा ल्याएका सबै अध्यादेश सरकारलाई अध्यादेश फिर्ता लिन सुझाव दिएका हुन् ।
अध्यक्ष नेपालले वर्तमान सरकार घाँडो भएको समेत प्रतिक्रिया दिएका छन् ।
उनले भने ‘देशका निम्ति वर्तमान सरकार घाँडो भएको छ । यस सरकारबाट देशले कुनै पनि हालतमा प्रगति गर्न सक्दैन । कुनै इन्डिकेटरले पनि पोजेटिभ लक्षण देखाएको छैन । देशको निम्ति ठुलो समस्या बनेको छ, यसले देशको समस्या समाधान गर्ने कुनै लक्षण देखाएको छैन । यस अर्थमा भूमिसम्बन्धी अध्यादेशलाई सरकारले फिर्ता लिनुपर्छ । र, यसको नैतिक जिम्मेवारी पनि बोक्नु पर्छ ।’
नेपालले काँग्रेस–एमाले मिलेर सरकार गठन गर्दा संविधान संशोधनको एजेन्डा अघि सारिए पनि कुन विषयमा संशोधन गर्ने भने बारे अन्योल रहेको र कुनै प्रक्रिया नै अघि नबढाएको बताएका छन्।