१६ फागुन, अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन प्रवर्द्धनमा डिजिटल प्रविधिको उपयोग गर्नुपर्ने बताएका छन् ।
सुपा देउराली मन्दिर संरक्षण समितिको १३औँ साधारणसभाको आज उद्घाटन गर्दै उनले अर्घाखाँची जिल्लामा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको बताए ।
“डिजिटल प्रविधिको उपयोग गरी प्रचारप्रसार गर्न सकियो भने धार्मिक पर्यटन अझ विस्तार गर्न सकिन्छ”, मुख्यमन्त्री आचार्यले भने, “धार्मिक पर्यटकहरु आकर्षित हुँदै गएको पाएका छौँ । थप व्यवस्थित गरेर अघि बढ्न जरुरी छ ।”
उनले धार्मिक पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारलाई प्रविधिसँग जोड्न आवश्यक रहेको उल्लेख गरे । “हामीले सुपा देउरालीका गतिविधि तथा प्रगतिलाई दैनिक रूपमा सार्वजनिक गर्नुपर्छ । एउटा डिजिटल पेज बनाएर हरेक दिनको विवरण अद्यावधिक गर्ने प्रणाली विकसित गरिनुपर्छ”, उनले भने, “देश÷विदेशमा अर्घाखाँचीलाई चिनाउन र पर्यटक भित्र्याउन मद्दत पुग्छ ।”
सो कार्यक्रममा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, शितगङ्गा नगरपालिकाका प्रमुख छविलाल पौडेललगायतले धारणा राखेका थिए ।