अन्तर्राष्ट्रिय

जेलेन्स्की शान्तिको लागि तयार छैनन्, युक्रेनले रुससँगको युद्ध जित्न सक्दैन : राष्ट्रपति ट्रम्प

१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको भेटवार्तामा चर्काचर्की परेको छ। शुक्रवार ह्वाइट हाउसको ओभल अफिसमा भएको उक्त भेटवार्ता तनावग्रस्त बनेको हो ।

बिबिसीका अनुसार ट्रम्पले जेलेन्स्की शान्ति नचाहने आरोप लगाउँदै उनी सहमत भएनन् भने अमेरिका यो युद्धबाट बाहिरिने चेतावनी दिए।  युक्रेनले रुससँगको युद्ध जित्न नसक्ने ट्रम्पको दाबी छ ।

बैठकपछि ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै जेलेन्स्कीविरुद्ध विभिन्न आरोप लगाएका छन्। ट्रम्पले भनेका छन्, “बैठकमा धेरै कुराहरू आए। तर राष्ट्रपति जेलेन्स्की शान्तिको लागि तयार छैनन् किनभने अमेरिका यसमा संलग्न छ। मलाई कुनै फाइदा चाहिँदैन, म केवल शान्ति चाहन्छु।”

उनले अगाडि भनेका छन्, ‘यदि उनी शान्ति चाहन्छन् भने फेरि फर्केर यहाँ आउन सक्छन्।’

ओभल अफिसबाट जारी गरिएको भिडिओमा अमेरिकाका लागि युक्रेनका राजदूत ओक्साना मार्कारोभाले आफ्नो निधार र अनुहारमा हात राखेको देखिन्छ। ट्रम्प र जेलेन्स्कीबीच बहस भइरहँदा राजदूत अत्यन्तै तनावग्रस्त देखिएका छन्। 

युक्रेनले अमेरिकालाई बहुमूल्य खनिज दिने सम्झौतामा हस्ताक्षर गर्न भनेर युक्रेनी राष्ट्रपति जेलेन्स्की शुक्रवार ट्रम्प भेट्न अमेरिका पुगेका थिए।  तर दुई जनाबिच चर्काचर्की परेसँगै उक्त सम्झौता अब असफल भएको छ।

दुई नेताबिचको चर्को बहसका कारण बैठकपछि गर्ने भनिएको पत्रकार सम्मेलन पनि रद्द  गरिएको छ  ।