राजनीति

धनुषा पुगेर प्रचण्डले भने: ‘हामीलाई सङ्ख्या नपुगेर सरकारबाट हटाए, अब हामीलाई जनताको मत चाहियो’

१८ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धको बेलामा जस्तै जनताका पिर मर्का बुझ्नमा नसकेकोमा गल्ती भएको स्वीकार गरेका छन्। उनले विगतमा केही चुकेको बताउँदै अब विगतबाट पाठ सिकेर नियमित जनताको घरदैलोमा आउने प्रतिबद्धता जनाएका हुन्। 

आज तराइ मधेस जागरण अभियानको सिलसिलामा  धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले  यस्तो बताएका हुन् ।

‘हिजो केही त्रुटि गर्‍यौँ । अलि पहिल्यै आउनुपर्थ्यो हामी-तपाईंहरुका पिर मर्का के छन् भन्ने जनयुद्धको बेलामा जस्तै जनआन्दोलनको बेलामा जस्तै सुन्नु पर्ने थियो । त्यो कुरा सदनमा उठाउनुपर्थ्यो । सडकमा लैजानुपर्ने थियो । अलिकति त्यहाँ चुकेकै छौँ’ उनले भने ।

जनताको कुरा सुनेर त्यसअनुसार राज्य सञ्चालनमा भूमिका खेल्नका लागि जनताको साथ पनि चाहिएको उनले बताए । सरकारमा रहेर काम गर्न खोज्दा खोज्दै सङ्ख्याका कारण सरकारमा रहन नसकेको पनि उनको भनाइ थियो।

अध्यक्ष दाहालले भने,‘राम्रो गर्न खोज्दा खोज्दै यो देशका लाल पुँजीपतिहरू, नोकरशाहरू भन्छौँ हामी ठुलो ठुलो नोकरी गरेर जनतालाई शोषण गर्नेहरू, बिचौलिया ठगहरू यी सबै मिलेर हामीले जनता र राष्ट्रको पक्षमा काम गर्दा गर्दै हामीलाई सरकारबाट सङ्ख्याको कारणले हटाए’।

आफू नेतृत्वको पार्टीलाई पुनः सरकारमा जान जनताको मत चाहिएको उनले बताए । ‘विशेष रूपले अनुरोध गर्न चाहन्छु, हामीलाई संसदमा सङ्ख्या चाहियो । हामीलाई तपाईँहरूको मत चाहियो ।’