१८ फागुन, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लिएर नेपाली काँग्रेसले सात प्रदेशमा सात नेतालाई जिम्मेवारी तोकेको छ । पार्टीको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घलाई जिताउन काँग्रेसले सात प्रदेशमा सात नेतालाई जिम्मेवारी सहित खटाएको हो।
काँग्रेसले पार्टी नेतृत्वबाट महामन्त्री विश्वप्रकाश शर्मालाई स्ववियु निर्वाचन आन्तरिक तयारीका लागि संयोजक बनाएको छ। पार्टीको केन्द्रीय कार्यालयबाट देशैभरि समन्वय र संयोजन गर्ने जिम्मा केन्द्रीय सदस्य नानु बास्तोलालाई दिइएको छ।
सहमहामन्त्री भीष्मराज आङ्दाम्बेलाई कोसी, सहमहामन्त्री महेन्द्र यादवलाई मधेस, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई बागमती प्रदेश, सहमहामन्त्री जीवन परियारलाई गण्डकी, नेता चन्द्र भण्डारीलाई लुम्बिनी, जीवनबहादुर शाहीलाई कर्णाली र सुदूरपश्चिम प्रदेशमा एनपी साउदलाई जिम्मा दिइएको काँग्रेसले जनाएको छ।
महामन्त्री शर्माले सात प्रदेश र ७७ वटै जिल्ला पार्टी कार्यालयमा सर्कुलर जारी गरिसकेका छन्। सात प्रदेशको जिम्मा पाएका हरेकलाई सघाउन पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सात जना नै नेतालाई थप जिम्मा दिइएको छ।
स्ववियु निर्वाचन आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले यस अघि नै सूचना मार्फत बताइसकेको छ। चैत ५ गते आङ्गिकतर्फ ६२ र सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो।