खेलकुद

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त

१८ फागुन, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले नयाँ मुख्य प्रशिक्षक पाएको छ। नयाँ मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन्। 

एन्फाले रोसलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको बताएको छ। एन्फाका अनुसार मुख्य प्रशिक्षकसँग भोली अन्तरक्रिया कार्यक्रम राखिएको छ ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल नजिकिँदै जाँदा एन्फाले नयाँ प्रशिक्षक नियुक्त गरेको हो । भिनसेन्जो अल्बर्टो एनेसको बहिर्गमनपछि नेपाली फुटबल टिमले मुख्य प्रशिक्षक बिना नै केही अन्तर्राष्ट्रिय खेल खेलेको थियो। 

विदेशी प्रशिक्षक नहुँदा नेपालले नवीन न्यौपानेलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको थियो,उनै न्यौपानेको प्रशिक्षणमा नेपालले ताजिकिस्तानमा घरेलु टोली र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।