राजनीति

माओवादी भित्र लागेको रोग पहिचान गरेर जनतामा आएका छौँ : अध्यक्ष दाहाल 

१८ फागुन, धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेबाट सरेको रोग पहिचान गरेर उपचारको लागी जनतामा आएको बताएका छन्। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफ्नो पार्टीमा पनि  एमाले काँग्रेसको जस्तै रोग देखिन थालेपछि त्यसको उपचारका लागि जनताको बिचमा आएको बताएका हुन्। 

‘कहिले काँग्रेस र कहिले एमालेसँग सहकार्य गर्दागर्दै उनीहरूको रोग माओवादीभित्र पनि देखिन थालेकाले पार्टीभित्र विभिन्न तहका परामर्श बैठकबाट रोग पहिचान गरेर यसको उपचार गर्ने डाक्टर जनता मात्रै हुन भन्ने निष्कर्षसहित उपचार खोज्न जनताको बिचमा आएका हौ।,’अध्यक्ष दाहालले भने 

 अध्यक्ष दाहालले आफ्नो पार्टी प्रति लाखौँ लाख जनताले गरेको माया र  विश्वास कायम राख्न नसक्नु कमजोरी भएको स्विकार्दै सबैभन्दा पहिले आफ्ना कमीकमजोरी सच्याएर जनतातिर फर्कन केन्द्रीय समिति बैठकले दिएको निर्देशनअनुसार पार्टीको सन्देश बोकेर यो अभियान सञ्चालन गरिएको जानकारी दिए। 

जागरण अभियानमा हुलाकी मार्ग वरिपरि सबैभन्दा धेरै उत्पीडित वर्ग र समुदायको बसोबास रहेकाले समुदायभित्रै छिरेर जनताको मनको कुरा नजिकबाट बुझ्ने कोसिस गरिरहेको र जनताको घरमा बस्ने, उनीहरूले जे खान्छन्, त्यही खाने, जस्तोमा बस्छन्, त्यही बस्ने गरेको दाहालले बताए।