खेलकुद

अन्तरपालिका भलिबल : सुर्नया सेमिफाइनलमा

१८ फागुन, बैतडी । सुर्नया गाउँपालिकाको टोली यहाँ जारी ‘मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा पुर्चौडी नगरपालिकालाई ३–२ सेटले हराउँदै सुर्नयाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

शाहिलेकस्थित वीरेन्द्र माविको खेलमैदानमा भएको उक्त खेलमा पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२० अङ्कले जितेको सुर्नयाले त्यसपछिका दुई सेट २७–२५ र २५–२१ अङ्कले गुमायो । अन्तिम सेट सुनर्याले १५–८ अङ्कले जित्यो ।

‘मैनेजर तेजबहादुर चन्द ट्रष्ट’को आयोजनामा गत बिहीबारदेखि सुरु भएको उक्त प्रतियोगितामा डिलासैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागिता छ । प्रतियोगिताको विजेताले रु एक लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए । यस्तै,  उपविजेताले रु ७५ हजार, तृतीयले रु ३५ हजार, सान्त्वना स्थान प्राप्त गर्नेलाई रु १५ हजार र उत्कृष्ट खेलाडीलाई रु पाँच हजार पुरस्कार दिइनेछ । यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।  

दशरथचन्द नगरपालिका–५ का तेजबहादुर चन्द वाणिज्य बैङ्कका क्षेत्रीय प्रबन्धक हुनुहुन्थ्यो । उहाँकै स्मृतिमा २०७४ सालमा स्थापना भएको ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।