राजनीति

यथास्थितिमा सरकारले ल्याएका अध्यादेश पारित हुँदैनन् : काँग्रेस नेता विश्वकर्मा

१९ फागुन, काठमाडौँ ।  नेपाली काँग्रेसका नेता  मीनबहादुर विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएका अध्यादेश पारित नहुने बताएका छन्।  

आज  रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा काँग्रेससँग छलफल गरे पनि संसद्‍मा लैजाँदा पार्टीहरूबिच असन्तुष्टि आएका कारण यही अवस्थामा पारित हुने अवस्था नभएको  बताएका हुन्। 

काँग्रेसको केन्द्रीय समिति सदस्य समेत रहेका विश्वकर्माले अहिलेको गठबन्धन २०८४ को निर्वाचनसम्म कायम रहने दाबी गरे। 

पछिल्लो समय काँग्रेस चलायमान बन्दै गइरहेको बताउँदै उनले अहिलेको अवस्थामा ५५ वटा विभाग निर्माण गरी ७७ वटै जिल्लामा निरन्तर कार्यक्रमहरू भइरहेको जानकारी दिए। 

काँग्रेसको १५ औँ महाधिवेशन तोकिएको समयमै हुने उनको जिकिर थियो।