१९ फागुन, काठमाडौँ । सरोकार भएकाहरूले मानव-वन्यजन्तु द्वन्द्वको मारमा विपन्न वर्ग पर्ने गरेको बताएका छन् । नेपाल वन प्राविधिक सङ्घ एनएफएको स्वर्ण महत्सवका अवसरमा आज यहाँ आयोजित ‘मानव वन्यजन्तु द्वन्द्व र वन डढेलो व्यवस्थापन’ विषयक नीति संवादमा सरोकार भएकाहरूले जङ्गल नजिक बस्ने र प्राकृतिक स्रोतको प्रयोग गर्ने भएकाले विपन्न वर्ग वन्यजन्तुको आक्रमणमा पर्ने गरेको बताएका हुन् ।
संवादमा वन अभियन्ता मिरा ढकालले पछिल्लो समय मानव-वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएकाले यसले गम्भीर समस्या निम्त्याएको र सबैभन्दा बढी ग्रामीण क्षेत्रका विपन्न वर्ग मारमा परेको बताए । “गरिब तथा विपन्न नागरिक नै जङ्गलमा घाँस, दाउरा, काठ सङ्कलन गर्न जान्छन्, त्यसैले पनि वन्यजन्तुको आक्रमणमा पर्छन्”, उनले भने, “वन्यजन्तु बस्तीमा पस्दा पनि आसपासका मानिसको जीवनयापनमा समस्या उत्पन्न भइरहेको छ ।”
मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनविद् डा दिनेश न्यौपानेले वन्यजन्तुको प्राकृतिक विनाश, वन आवास अतिक्रमण र कटानी, सहरीकरण, जङ्गल आसपासमा बस्ती बढ्दै जानेलगायत कारणले वन्यजन्तु मावबस्तीमा प्रवेश गरिरहेकाले द्वन्द्व बढ्दै गएको बताए । “जङ्गलमा पिउने पानी र खाद्यन्नको अभावका कारण पनि वन्यजन्तुलाई बस्तीमा छिरिरहेका छन् । खुला भान्सा भएको र रक्सी बनाउँदा त्यसका गन्दले पनि घरमा वन्यजन्तु पस्ने गर्छन् । यसमा सचेत हुनुपर्ने आवश्यकता छ”, उनले भने ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदीले वन्यजन्तु बस्तीमा छिर्दा मानिसहरूले देखाउने व्यवहार र संयमता नअपनाउँदा द्वन्द्वका घटना भइरहेका बताए । “पहिले पनि पनि मानव वन्यजन्तु द्वन्द्वका घटना हुन्थे । हाल मिडियाका कारण घटना बाहिर आए । वन्यजन्तु बस्तीमा छिर्दा झिस्काउने, ढुङ्गा हान्ने, होहल्ला गर्ने तर संयमित नहुने र सतर्कता नअपनाउनेजस्ता कारणले वन्यजन्तुले आक्रमण गर्छन् । वन्यजन्तु र मानिसबीचको द्वन्द्व घटाउन स्थानीय सुरक्षा बललाई थप तालिम र प्रविधि दिनु आवश्यक छ”, उनले भने ।