अन्तर्राष्ट्रिय

चीनले भन्यो : हामी अमेरीकासँग जस्तोसुकै युद्ध लड्न तयार छौं

२२ फागुन, काठमाडौँ । अमेरिकाले  भन्सार शुल्क लगाएपछि  चीनले अमेरिकालाई खुलेआम चेतावनी दिएको छ। डोनाल्ड ट्रम्पले चीन माथि थप भन्सार कर लगाएपछि चीनले क्रुद्ध हुँदै  जस्तो सुकै युद्धको लागी आफू तयार रहेको जनाएको हो। 

अमेरिकास्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गरेर  चीन अमेरिकासँग सबै प्रकारको युद्ध लड्न  तयार रहेको बताएको हो।

चिनियाँ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘चाहे त्यो ट्यारिफ (भन्सार शुल्क) युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौँ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबारदेखि चीनबाट अमेरिका आउने सामानमा थप १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। यसअघि फेब्रुअरीको सुरुमै ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क लगाइसकेका थिए। अमेरिकाले चिनियाँ सामानमा कूल २० प्रतिशत भन्सार शुल्क लगाएको छ।

 चीनले पनि अमेरिकाबाट चीन आउने धेरै कृषि उत्पादनमा १० देखि १५ प्रतिशतसम्मको भन्सार शुल्क लगाएको छ। चीन अमेरिकी मकै, गहुँ र भटमासजस्ता धेरै अमेरिकी उत्पादनका लागि सबैभन्दा ठुलो बजार हो।