कृषि

कृषि मन्त्रालयले अघि सारेका कार्यक्रमबाट उत्पादन बढेको छ : मन्त्री अधिकारी


२३ फागुन, काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको यन्त्रीकरण तथा व्यावसायीकरणका विभिन्न कार्यक्रमबाट खाद्यान्न, तरकारी, फलफूललगायत कृषिउपजको उत्पादन वृद्धि भएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनबहादुर सुनारले राखेको प्रश्नको जवाफ दिदै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा धानको उत्पादन गत वर्षको तुलनामा दुई लाख ३१ हजार मेट्रिक टनले बढेर ५९ लाख ५५ हजार मेट्रिक टन पुगेको जानकारी दिए । ताजा तरकारी र फलफूलको क्षेत्रफल र उत्पादन तथा उत्पादकत्वसमेत बढ्दै गएको बताए । 

उनले हाल बाह्रै महिना ताजा तरकारीको उपलब्धता हुनु, स्याउ, सुन्तला, केरा, आँपलगायत स्वदेशी उत्पादनले ओगट्ने बजारको हिस्सा बढ्दै जानु सकारात्मक पक्ष रहेको उल्लेख गरे ।

पछिल्लो समय पशुजन्य उत्पादनमा पनि मुलुक आत्मनिर्भरतातर्फ अघि बढिरहेको बताउँदै मन्त्री अधिकारीले चालु आवको तथ्याङ्क अनुसार दूधको उत्पादन २६ लाख १६ हजार मेट्रिक टन, माछा एक लाख १९ हजार मेट्रिक टन, मासु चार लाख ३१ हजार मेट्रिक टन र अण्डाको उत्पादन एक अर्ब ६० करोड भन्दा बढी रहेको जानकारी दिए । 

उनले बढ्दो जनसङ्ख्या र विविधतासँगै मुलुकभित्रको कृषिउपजको उत्पादनबाट माग परिपूर्ति हुननसक्दा आयात भएको भन्दै धान चामल, गहुँ, मकै, आलु, प्याज, लसुन र केही मात्रामा फलफूलको आयात बढी देखिएको बताए ।