२४ फागुन, जुम्ला । डिभिजन वन कार्यालय जुम्लाद्वारा चालु आर्थिक वर्षको आठ महिनामा रु एक करोड २० लाख राजस्व सङ्कलन गरेको छ । गत वर्ष यही अवधिमा खासै राजस्व सङ्कलन हुनसकेकामा यस वर्ष भने उक्त परिमाणमा राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाले जानकारी दिए ।
उनले वन पैदावर र जडीबुटीको संरक्षणबाट यस वर्ष राम्रो आम्दानी गर्न सकिएको बताए । “गत वर्ष वन व्यवस्थापन पञ्चवर्षीय कार्ययोजना बनाउन नसकेकाले राजस्व सङ्कलन हुनसकेको थिएन । यसपटक कार्ययोजना निर्माणका साथै विभिन्न जडीबुटी र वन पैदावरको संरक्षण तथा कर्मचारीको सक्रियताका कारा सन्तोषजनक रूपमा राजस्व सङ्कलन भएको छ”, बुढ्थापाले भने ।
कार्यालयले पछिल्लो समय वनको संरक्षण तथा विकास, पर्यटन पूर्वाधार, पार्क निर्माण, पदमार्ग, मठ मन्दिरलगायत पूर्वाधार निर्माण, जडीबुटी प्रशोधन तथा प्रवर्द्धनका क्षेत्रमा विशेष महत्वका साथ काम गरिएको छ ।
यस अवधिमा यहाँ पाँच हेक्टर वन क्षेत्रको अतिक्रमण रोकथाम गरिएको छ । जिल्लाका आठ स्थानीय तहमा रहेका ४६ वनको नयाँ कार्ययोजना बनाइएर काम भइरहेको छ । कार्यालयकाअनुसार यहाँ दुई सय छ सामुदायिक, एक सय २७ कबुलियती, छ वटा निजी वन रहेका छन् ।