राजनीति

सांसद शाहीको दाबी : योगी आदित्यनाथको फोटो प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले राख्न लगाए (हेर्नुहोस् स्टाटस)

२६ फागुन, काठमाडौँ।  राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा हिजो आइतबार काठमाडौँमा आयोजित र्‍यालीमा राखिएको विवादित तस्बिर स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले राख्न लगाएको आरोप लगाएका छन्। 

नेकपा एमालेका उपमहासचिव समेत रहेका रिमालले भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर राख्न लगाएको आरोप सामाजिक सञ्जाल मार्फत लगाएका हुन्। 

सांसद शाहीले आज सोमबार विष्णु रिमाललाई ट्याग गर्दै फेसबुकमा लेखेका छन्, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो  स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ। नेपाली  राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि। विदेशीको एजेन्डामा र सिद्धान्तमा  पार्टी चलाउनेहरूले ठुलो कुरा गरेको देख्दा अचम्म लाग्छ!  माक्स ,लेनिन, माओ कुन देशका हुन्?’

पूर्वराजा ज्ञानेन्द्र र भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर आन्दोलनकारीले संगै राखेर प्रदर्शन गरेपछि विवाद बढेको थियो। उक्त तस्बिरलाई लिएर विभिन्न टीका टिप्पणीसमेत भइरहेका छन्।