अन्तर्राष्ट्रिय

इन्डोनेसियाको हरित अभियान : सन् २०२९ भित्र पूर्ण फोहोर व्यवस्थापन गर्ने लक्ष्य

२६ फागुन, जकार्ता । इन्डोनेसियाली सरकारले सन् २०२९ सम्ममा शतप्रतिशत फोहोर व्यवस्थापन गर्ने लक्ष्य राखेको घोषणा गरेको छ, जुन लक्ष्य सन् २०२५–२०२९ राष्ट्रिय मध्यमकालीन विकास योजनामा उल्लेख गरिएको छ ।

इन्डोनेसियाका वातावरण तथा वन मन्त्री हनिफ फैसोल नुरोफिकले भने,“यो लक्ष्य पूरा गर्ने मुख्य प्रयासहरू मध्ये एउटा अन्तिम डिस्पोजल साइटहरू बन्द गर्नु हो, जसले अझै खुला डम्पिङ प्रणाली प्रयोग गरिरहेको छ ।”

ओपन डम्पिङ प्रणालीमा सञ्चालित कम्तीमा ३ सय ४३ ल्याण्डफिल बन्द गरिने उनले बताए । “पहिलो चरणमा ३७ ल्यान्डफिलहरू बन्द हुनेछन्, जुन हामीले छ महिना भित्र पूरा गर्ने लक्ष्य राखेका छौं,” नुरोफिकले पत्रकार सम्मेलनमा बताए ।

नुरोफिकले आफ्नो मन्त्रालयको पछिल्लो तथ्याङ्कले दक्षिणपूर्वी एसियाली मुलुकमा फोहोर व्यवस्थापन ३९.०१ प्रतिशत मात्रै पुगेको बताए ।

राष्ट्रिय फोहोर व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्क अनुसार इन्डोनेसियाले सन् २०२४ सम्ममा ३०१ जिल्ला र सहरबाट कुल ३२.६ मिलियन टन फोहोर रेकर्ड गरेको छ ।