२६ फागुन, दमास्कस । सिरियाको रक्षा मन्त्रालयले सोमबार तटीय क्षेत्रमा आफ्नो सैन्य कारबाही समाप्त भएको घोषणा गरेको छ ।
मन्त्रालयका प्रवक्ता हसन अब्देल घानीले एक विज्ञप्तिमा सबै ‘रणनीतिक उद्देश्यहरू’ हासिल भइसकेको कुरा पुष्टि गर्दै सरकारी सेनाले मुख्य पूर्वाधारहरू सुरक्षित गरेको बताए ।
अब्देल घानीले थपे,“सार्वजनिक संस्थाहरू अब आफ्नो काम पुनः सुरु गर्न र आवश्यक सेवाहरू प्रदान गर्ने स्थितिमा छन् ।”
उहाँले सुरक्षा निकायको ध्यान स्थायित्व कायम गर्न र भविष्यमा हुने खतराबाट बच्नमा केन्द्रित हुने बताए ।
मन्त्रालयका अनुसार बिहीबारदेखि सुरु भएको र तटवर्ती क्षेत्रका धेरै क्षेत्रमा फैलिएको सुरक्षा बलमाथिको समन्वित आक्रमणको जवाफमा सैन्य कारबाही सुरु गरिएको थियो, जसमा सर्वसाधारणसहित एक हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
आइतवार, सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले तटीय क्षेत्रमा हालैको घातक हिंसाको छानबिन गर्न स्वतन्त्र राष्ट्रिय समिति गठन गर्ने घोषणा गरे । साथै, उनले जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउने र प्रभावित सबैलाई न्याय सुनिश्चित गर्ने वाचा गरे ।
संयुक्त राष्ट्र सङ्घले आइतवार उत्तरपश्चिमी सिरियामा भएको हिंसाको तत्काल अन्त्य गर्न आह्वान गरेको थियो ।
संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले हत्याको तुरुन्त अनुसन्धान गर्न आह्वान गरे ।
सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल–असदका समर्थकहरूबीच दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरूले मृत्यु सङ्ख्या एक हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले शनिबार बताएको छ ।
यो सिरियाको १४ वर्षअघि सुरु भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसाको घटना हो ।
बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सात सय ४५ सर्वसाधारण मारिएका छन् । तीमध्ये एक सय २५ जना सरकारी सुरक्षा बलका सदस्य र एक सय ४८ जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकुहरू मारिएका छन् । लाटाकिया सहर वरपरका ठूलो क्षेत्रमा बिजुली र खानेपानी काटिएको अब्जर्भेटरीले बताएको छ ।
असदलाई सत्ताबाट हटाएपछि विद्रोहीहरूले सत्ता लिएको तीन महिनापछि बिहीबार भड्किएको झडपले दमास्कसमा नयाँ सरकारलाई ठूलो चुनौती दिएको छ ।
सरकारले असदका बलहरूको अवशेषबाट भएको आक्रमणको जवाफ दिइरहेको र व्यापक हिंसाका लागि ‘व्यक्तिगत कार्यहरू’ लाई दोष दिएको बताएको छ ।