राजनीति

सरकारका सबै निर्णय र नियुक्तिमा बिचौलियाको हस्तक्षेप छ : अध्यक्ष दाहाल 

२७ फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सत्ताको ड्राइभिङ सिटमै बिचौलिया रहेको आरोप लगाएका छन्।  आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले  पछिल्लो ८ महिनामा भएका सबै नीति, निर्णय र नियुक्तिमा बिचौलियाको हस्तक्षेप रहेको बताएका हुन्। 

अध्यक्ष दाहालले अहिलेको सत्ताको ड्राइभिङ सिटमै बिचौलिया रहेको आरोप लगाए। 

‘अहिले सरकार र सरकारी संयन्त्रमा बसेका साथीहरूले बडो घमण्ड गरेको सुनिन्छ, सरकार यो गर्दै छ, त्यो गर्दै छ भनेर । तर, दुई तिहाइको घोडा कसले चलाएको छ ? म जोड दिएर भन्छु, सरकारको दुई तिहाइको घोडा प्रधानमन्त्री र मन्त्रीहरूले चलाएको मैले देखेको छैन । तपाईँहरूले गर्ने नियुक्ति, सेटिङ, बिचौलियाले गरेको देखेको छु । सत्ताको ड्राइभिङ सिटमै आज बिचौलिया  बसेको छ ।’

उनले यो ८ महिनामा बिचौलियाबिना भएको एउटै मात्रै उदाहरण भए देखाइदिन सरकारलाई चुनौती दिएका छन्। 

‘म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला ८ महिनामा एउटै नीति, निर्णय र नियुक्ति मलाई भनिदिनुस् जसका पछाडि बिचौलिया छैन । जम्मा एउटा उदाहरण दिए पनि हुन्छ,’दाहालले भने ।