२७ फागुन, काठमाडौँ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घसँग प्रतिस्पर्धा गर्न त्रिचन्द्र क्याम्पसमा अन्य सात संगठनद्वारा चुनावी तालमेल गरेका छन्।
नेपाली काँग्रेस निकट नेविसंघसँग प्रतिस्पर्धा गर्नका लागि ६ वटा कम्युनिस्ट पार्टीधर विद्यार्थी सङ्गठन र एउटा आदिवासी जनजाति महासङ्घको विद्यार्थी सङ्गठनले चुनावी तालमेल गरेका हुन् ।
यद्यपि सात सङ्गठनले तालमेल गरे पनि नेविसंघले नै चुनाव जित्ने नेविसंघका नेताहरूले दाबी गरेका छन्।
नेविसंघले गोविन्द कोइरालालाई त्रिचन्द्रमा अध्यक्षको उम्मेदवार बनाएको छ अन्य सात सङ्गठनले अध्यक्षमा अनेरास्ववियुका प्रमित विष्टलाई समर्थन गरेका छन् । विष्ट एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका हुन् ।
चुनावी तालेमल पछि उम्मेदवारको भागबन्डा भएको छ। अनेरास्ववियुलाई २, अखिल (क्रान्तिकारी)लाई ३ अनेरास्ववियूबाट २ जना भागबन्डा गरिएको छ । अन्य सङ्गठनहरू अनेरास्ववियू (क्रान्तिकारी बहुमत), अनेरास्ववियू (समाजवादी), अनेरास्ववियू छैटौँ र नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घ १/१ जना उम्मेदवार हुने गरी तालमेल गरिएको छ।