२८ फागुन, काठमाडौँ । नेविसंघ महेन्द्र मोरङ कलेजमा विवाद भएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला पक्षका नेविसंघका नेताहरू र संस्थापन पक्षका नेविसंघका उम्मेदवार- उम्मेद्वार विवाद भई झडपको अवस्था सृजना भएको छ ।
देशभरका अधिकांश कलेजमा कम्तीमा दुई जनाले नेविसंघका उम्मेदवारी दिएको अवस्थामा उक्त उम्मेदवारी नेविसंघ केन्द्रले आधिकारिक उम्मेदवार बाहेकबाट फिर्ता दिलाउन नसक्ने अवस्थामा नेविसंघको अवस्था जटिल भएको विद्यार्थीहरू बताउँछन् ।
नेविसंघले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघको आधिकारिक उम्मेदवार दिपक जोशी भए पनि अनुज कार्की लोकप्रिय उम्मेदवार भएका कारण उनले टिकट पाएनन्। नेविसंघको गणको रूपमा रहेका त्रिचन्द्र क्याम्पस, शङ्करदेव क्याम्पस, पशुपति क्याम्पसलगायत अधिकांश स्थानमा नेविसंघको बागी उम्मेद्वारहरु रहेका छन् ।
पछिल्लो समयमा स्ववियू निर्वाचनको केही दिन अगाडी नै आफ्ना उम्मेद्वारहरु फाईनल गरेको नेकपा एमाले अखिल, माओवादी समर्थक अखिल क्रान्तिकारी बलिया नभए पनि नेविसंघको विवादका कारण नेविसंघलाई अप्ठ्यारो पर्न सक्ने हुँदा त्यसमा सचेत रहने नेविसंघका नेताहरूले सचेत गराएका छन् ।
काँग्रेसको आउँदै गरेको १५ औँ महाधिवेशन र उपल्लो स्तरका नेताहरूमा देखिएको प्रतिष्ठाको विषयको आकाङ्क्षा कारण आ–आफ्ना समूहका विद्यार्थीहरूलाई स्थापित गराउने होडबाजीका कारण नेविसंघको स्ववियू राजनीति सङ्कटमा परेको छ ।
सयौँको हाराहारीमा बनेको नेविसंघको केन्द्रीय समिति र विद्यार्थीमाथि बढेको महत्त्वाकाङ्क्षा कारण धेरै विद्यार्थीहरूले स्ववियूमा टिकट खोज्नु स्वाभाविक भए पनि त्यसलाई मिलाएर लान नसक्नु नेविसंघ मात्र नभएर पार्टीको नेविसंघ हेर्ने नेताहरू र उच्च नेतृत्वको समेत कमजोरी देखिएको काँग्रेस नेताहरूको तर्क छ ।
विराटनगर गृह नगर भएका डा शेखर कोइराला पक्षलाई नजर अन्दाज गरेर योगराज दाहाल, आयुष दाहाल, गुड्डु शाह, पूजा विश्वासलाई प्रहरीले पक्राउ गर्नु गलत भएको नेताहरूको आङ्कलन छ । महामन्त्री विश्व प्रकाश शर्मा, गगन कुमार थापालगायत नेताहरूको नेविसंघमा पकड छ। यस अवस्थामा संस्थापन पक्षले अरू सबैलाई पेलेर लान खोजेको अवस्थामा अन्य विद्यार्थी सङ्गठनलाई फाइदा हुने हुँदा नेविसंघ वलियो भए पनि अखिललाई फाइदा हुने अखिलका एक नेताले सुर्यखबरलाई नाम नभन्ने सर्तमा बताए । उनले भने, ‘नेविसंघ अधिकांश स्थानमा बलियो भए पनि विवादका कारण परिणाम राम्रो नआउन सक्छ ।’
नेताहरूको प्रतिष्ठाको लडाइँका कारण विवादै विवादमा नेविसंघको अवस्था रहेको र १५ औँ महाधिवेशनमा बल देखाउने अस्त्रको रूपमा प्रयोग भएको काँग्रेसका इमानदार नेताहरूको ठम्याई छ । उनीहरूको भनाई मा जित्ने र विद्यार्थीहरूको हितका लागि लागेको नेतालाई स्ववियूमा टिकट दिनुपर्नेमा आफ्नो गुट स्थापित गर्न लागेको देखिएकाले उक्त कार्य राम्रो नभएको बताउँछन् ।