अन्तर्राष्ट्रिय

बङ्गलादेशका रोहिङ्ग्याहरूलाई खाद्य कटौती रोक्न ‘सबै कुरा’ गर्ने राष्ट्रसङ्घीय प्रमुखको वाचा

१ चैत, बङ्गलादेश । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले शुक्रबार बङ्गलादेशमा रहेका रोहिङ्ग्या शरणार्थीका लागि खाद्यान्न कटौती हुनबाट रोक्न सङ्गठनले ‘सबै’ गर्ने बताएका छन् ।

गुटेरेसले कक्स बाजारका शिविरहरूमा रोहिङ्ग्या शरणार्थीहरूसँग एकता प्रदर्शनका लागि भेट गरे र अधिकांश मुस्लिम उत्पीडित अल्पसङ्ख्यकसँग इस्लामी पवित्र महिना रमदानको रोजा उपवास तोडे ।

सन् २०१७ को सैन्य दमनपछि छिमेकी म्यानमामा भएको युद्धबाट भागेर दुर्गम राहत शिविरहरूमा बसोबास गर्ने १० लाख शरणार्थीमध्ये धेरैलाई अहिले गम्भीर मानवीय सहायता कटौतीको खतरा छ ।

गुटेरेसले संयुक्त राज्य अमेरिका र अन्य देशहरूद्वारा घोषित ‘नाटकीय’ मानवीय सहायता कटौतीले ‘यो शिविरमा खाद्य राशन कटौती गर्ने जोखिम’ रहेको बताए ।

“म प्रतिज्ञा गर्न सक्छु कि हामी यसबाट बच्नका लागि सबै गर्नेछौँ र म विश्वका सबै देशसँग कुरा गर्नेछु जसले हामीलाई सहयोग गर्न सक्छन् ताकि मानिसहरूले अझ बढी पीडित हुने र केही मानिसहरूको मृत्यु हुने अवस्थादेखि बच्न कोष उपलब्ध गराउन सुनिश्चित गर्न सकियोस्”, गुटेरेसले भने ।

एक लाखभन्दा बढीले गुटेरेससँग उपवास तोड्ने सूर्यास्त भोजनमा भाग लिएका थिए । तीमध्ये केहीले ‘अब शरणार्थी जीवन होइन’ र ‘हामी रोहिङ्ग्या हौँ, राज्यविहीन होइनौँ’ भन्ने प्लेकार्डहरू बोकेका थिए ।

गुटेरेसले म्यानमामा शान्ति पुनःस्थापित गर्नु, ‘रोहिङ्ग्याहरूको अधिकारलाई सम्मान गर्नु’ र ‘हामीले विगतमा देखेको जस्तो भेदभाव र उत्पीडन अन्त्य हुनु’ ‘अत्यावश्यक’ भएको बताए ।

उनीसँगै ढाकाको अन्तरिम सरकारका सदस्यहरू, अन्तरिम सरकारका मुख्य सल्लाहकार, नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस पनि थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा समीक्षाका लागि बाँकी रहेको विदेशी सहायतामा रोक लगाएपछि यसले मानवीय समुदायलाई स्तब्ध पारेको छ ।

सहायता कोषको कमीले शिविरमा प्रतिव्यक्ति १२।५० डलरदेखि ६।०० डलरसम्म मासिक खाना भाउचरमा कटौती गर्नुपर्ने संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमले यस महिना घोषणा गरेको छ ।

लगातार सहायता कटौतीले पहिले नै भीडभाड भएका बस्तीहरूमा सहायतामा निर्भर र व्यापक कुपोषणबाट पीडित रोहिङ्ग्याहरू बीच तीव्र कठिनाइ निम्त्याएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले शिविरमा युवाहरूले सन् २०१७ पछि कुपोषणको सबैभन्दा खराब स्तरको अनुभव गरिरहेको र सन् २०२४ को समान महिनाको तुलनामा फेब्रुअरीमा गम्भीर कुपोषण उपचारका लागि भर्ना २७ प्रतिशतले बढेको बताएको छ ।

बङ्गलादेशमा युनिसेफका प्रतिनिधि राणा फ्लावर्सले बङ्गलादेशका लागि रद्द गरिएको अमेरिकी अनुदान उनको एजेन्सीको रोहिङ्ग्या शरणार्थी प्रतिक्रिया लागतको लगभग एक चौथाइ रहेको बताए ।

बङ्गलादेशले आफ्नो शरणार्थी जनसङ्ख्यालाई सहयोग गर्न सङ्घर्ष गरिरहेको छ र ढाकाले रोहिङ्ग्या शरणार्थीहरूलाई थप सहायता सुरक्षित गर्ने तरिकाहरू खोजिरहेको बताएको छ ।

यसअघि शुक्रबार ढाकामा युनुससँग वार्ता गर्नुभएका गुटेरेसले संयुक्त राष्ट्रसङ्घ र ढाकाबीचको ‘घनिष्ठ सहयोग’ को प्रशंसा गरेको बताए ।

कक्स बजार वरपरका शिविरहरूमा बसोबास गर्ने रोहिङरग्याहरूलाई रोजगारी खोज्ने अनुमति छैन र बाँच्नका लागि लगभग पूर्ण रूपमा सीमित मानवीय सहायतामा निर्भर छन् ।

गत वर्ष विद्यार्थी नेतृत्वको क्रान्तिले लामो समयदेखिको शासक शेख हसिना र उनको सरकारलाई अपदस्थ गरेपछि बङ्गलादेश अझै पनि आफ्नै राजनीतिक सङ्कटबाट गुज्रिरहेको छ ।

गुटेरेसले ‘बङ्गलादेशको सुधार र सङ्क्रमण प्रक्रियासँग आफ्नो एकता’ व्यक्त गरे ।