२ चैत, काठमाडौँ । सरकारले पूर्वविशिष्टलाई आजीवन सुविधा थप्ने तयारी गरेको भन्ने समाचार आइरहेको बेला उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको त्यस्तो कुनै तयारी नभएको दाबी गरेका छन्।
आज पाल्पा पुगेका उपप्रधानमन्त्री सिंहले नेपाल पत्रकार महासङ्घ पाल्पाले शनिवार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सरकारले पूर्वविशिष्टलाई सुविधा थप्ने तयारी नगरेको बताएका हुन्।
यसअघिका सरकारले अगाडि बढाएको पूर्वविशिष्टको सुविधाको विषय सर्वोच्च अदालत पुगेपछि कानुन बनाएर व्यवस्थित गर्ने गरी निर्देशनात्मक आदेश जारी भएको जानकारी दिए। उनले भने,’पूर्वविशिष्टलाई सुविधा थप्ने गरी सरकारले गृहकार्य अघि बढाएको छैन । सुविधा थप्ने सरकारको मनसाय छैन ।’
राजनीतिक स्थिरता नभई विकासको कामले गति लिन नसक्ने भएकाले अहिले काँग्रेस, एमालेसहितका दलहरू मिलेर सरकार बनाएको दाबी गर्दै उनले जनताको जीवन र जीविका सहज बनाउनु नै सरकारको प्राथमिकता रहेको बताए ।