राजनीति

सभापतिका उम्मेदवारले नै लगाए त्रिचन्द्र क्याम्पसमा ताला

२ चैत, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को  निर्वाचन नजिकिँदै गर्दा  त्रिचन्द्र क्याम्पसमा स्ववियुका उम्मेदवारले नै  तालाबन्दी गरेका छन्। मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको आधारमा राख्ने भन्नेमा विषयमा विवाद बढेपछि सभापतिका उम्मेदवार विवेक बानिया र श्रीधर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका हुन्। 

ताला लगाउने सभापतिका उम्मेदवार श्रेष्ठ नेविसंघका बागी उम्मेदवार हुन् तर, नेविसंघले उनलाई आधिकारिता नदिएपछि उनी स्वतन्त्र उम्मेदवार उठेका छन् । त्यस्तै बानिया स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघबाट सभापतिको उम्मेदवार छन्। 

निर्वाचन समितिले नमुना मत पत्र बनाएर उम्मेदवारहरूसँग शुक्रवार छलफल गरे पनि असन्तुष्ट बनेका सभापतिका उम्मेदवार बानिया र श्रेष्ठले माग सम्बोधन नभएको भन्दै ताला लगाएका हुन् । अहिले असन्तुष्ट पक्षसँग सहमतिको प्रयास भइरहेको बताइएको छ।